भैरहवा,६ भदौ ।
नक्कली शैक्षिक प्रमाणपत्रकाे काराेवार गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदेश स्तरीय नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेल रहेका छन् ।

कँडेललाई रुपन्देही प्रहरीले प्रहरीले चितवनबाट पक्राउ गरेको हो । कँडेल रास्वपा बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् ।

रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई चितवनबाट बुधबार पक्राउ गरी रुपन्देही ल्याइएको छ ।

कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्रीवितरण गरेको कसुरमा अनुसन्धान सुरु भएको एसपी क्षेत्रीकाे भनाइ छ ।

गत साउन ३० गते प्रहरीले रूपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ अगाडिबाट ठूलो परिमाणमा त्रिभुवन विश्वविद्यालय सहित भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरेकाे थियो ।

यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको एसपी क्षेत्रीकाे भनाइ छ ।

ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय नागरिक पक्राउ परेकाे घटनाको अनुसन्धानका क्रममा उक्त कार्यमा अन्य ब्यक्ति पनि संलग्न रहेको आशंकामा अनुसन्धानकाे दायरा बढाएको रूपन्देही प्रहरी कँडेलसम्म पुगेको हो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।