बुटवल,६ भदौ ।
बर्षासँगै पहिरो खसेर अवरुद्घ सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड सन्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा गएराति १ बजेतिर पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै आज बिहान करिब साढे सात बजेदेखि सडक दुईतर्फी सञ्चालन भएको हो ।

सडक खुलेपछि सवारी साधनहरु गन्तव्यतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए ।

बाटो बन्द हुँदा पाल्पासहित रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङतर्फ आउ–जाउ गर्ने सवारी साधन र तिनमा सवार यात्रुहरु रातभर सडकमै अलपत्र परेका थिए ।

उता गुल्मीको कालिण्डकि गाउपालिका राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने सवारीसाधन बीचबाटोमा रोकिएका छन् ।

सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन पुर्तिघाटस्थित प्रहरीचौकीबाट टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुका अनुसार बाटो खोल्न डोजरलगायत उपकरण प्रयोग गरिएको छ ।