२ करोड ६२ लाखभन्दा बढी जरिवानाकाे माग दाबी
बुटवल,४ भदौ ।
राजस्व चुहावट गरेको आराेपमा राजस्व अनुसन्धान कार्यालय बुटवलले एक भारतीयसहित दुई जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरेको छ ।
अभियाेग पत्र दर्ता हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का रामबहादुर विक र भारतको पञ्जाबस्थित अमृतसर निवासी कुलदीप सिंह रहेका छन् ।
भन्सार प्रज्ञापन तथा आवश्यक कागजातबिनै भन्सार चोरी गरी सुनका गरगहनाहरूको कारोबार गरेको आराेपमा राजश्व अनुसन्धान कार्यालयले उनीहरू विरुद्ध जिल्ला अदालत रुपन्देहीमा अभियोग पत्र दर्ता गरेको हो ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेका अनुसार उनीहरू माथि राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ । कुलदिप सिंह र रामबहादुर विकले भन्सार प्रज्ञापन तथा आवश्यक कागजातबिनै ६१ तोला सुनका गरगहना भन्सार छली गरी राजस्व चुहावट गरेको अनुसन्धानबाट खुल्न आएको भन्दै उनकाे भनाइ छ ।त्यसबापतको सजाय र जरिवानासहित दुई करोड ६२ लाख ७१ हजार २९ रुपैयाँ माग दाबी गरी मुद्दा दर्ता भएको हो ।
सिंहले भन्सार छली गरी एक करोड पाँच लाख आठ हजार चार सय एघार रुपैयाँ ३० पैसाबराबरका सुनका गरगहनाको कारोबार गरेको कार्यालयकाे दाबी छ । अभियोग पत्रमा मुख्य अभियुक्त सिंहलाई बरामद गरिएका सुनका सबै गरगहना जफत गरी सो बराबरको एक करोड पाँच लाख आठ हजार चार सय एघार रुपैयाँ ३० पैसा जरिवाना रकम र कैद सजायको माग गरिएको छ ।
सोही कार्यमा सहभागी भएर मतियारको भूमिका खेलेकाे आराेपमा रामबहादुर विकलाई ऐनको दफा २३ को उपदफा ३ अनुसार आधा सजाय माग गरिएको छ । विकलाई ५२ लाख ५४ हजार २०६ रुपैयाँ जरिवाना कायम गरिएको छ । दुवै प्रतिवादीमाथि कुल जरिवाना तथा सजाय रकम दुई करोड ६२ लाख ७१ हजार २९ रुपैयाँ माग दाबी गरिएको राजश्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।






