बुटवल,४ भदौ ।
बुटवलमा आजदेखि एक महिने “स्वस्थ्य मुख महाअभियान” सुरु भएको छ ।

सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल रहेका विभिन्न संघसंस्थाको आयोजनामा सञ्चालन भएको महाअभियानकाे आज एक कार्यक्रमकाबीच लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि नेपालका डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराईले शुभारम्भ गरेका हुन् ।

साे अवसरमा डिस्ट्रिक्ट गभर्नर भट्टराईले सामाजिक क्रियाककलापहरु गर्दै आईएका क्लबहरूले अहिलेसम्म स्वास्थ्य सम्बन्धी कार्यक्रममा मुख स्वास्थ्यलाई बेवास्ता गरिएको हुँदा यसपटक यसलाई प्राथमिकतामा राखिएको बताए ।
समाजबाट केही पाएर नै हामी आज यो ठाउँमा पुगेकाे भन्दै उनलेे समाजका लागि पनि केही गर्नुपर्छ भन्ने मान्यताका साथ मुख स्वास्थ्य अभियान सञ्चालन गरिएको उल्लेख गरे ।

कार्यक्रममा मुख स्वास्थ्य अभियान्ता एवं आधुनिक समाज डेन्टल केयर प्रा लि, बुटवलका अध्यक्ष अमृत भुसालले मुख स्वास्थ्यको महत्वसहितको सचेतना जगाउन र मुख राेगमा कमि ल्याउन स्वास्थ्य मुख महाअभियान शुरु गरिएको जानकारी गराए ।

“स्वस्थ शरीरको लागि स्वस्थ मुख” भन्ने मुल नारा र “पैसाको अभावमा कसैले दुखाइ सहन नपरोस, पैसाकै अभावमा कोही मुस्कुराउन नबिर्सियोस् “ भन्ने मर्मका साथ महाअभियान संचालन गरिएको उनलेे बताए ।

आधुनिक समाज डेन्टल केयरको प्राविधिक सहयोग एवम् लायन्स क्लव अफ रुपन्देही, रोटरी क्लव अफ लुम्बिनी स्टार्स, दारी ग्याङ र आधुनिक समाज विकास फाउन्डेशनको संयुक्त आयोजनामा भएको महाअभियान आज भदौ ४ गतेदेखी असाेज ५ गतेसम्म सञ्चालन हुने लायन्स क्लव अफ रुपन्देहीका अध्यक्ष घनश्याम घिमिरेले जानकारी दिए ।

महाअभियान अन्तर्गत पहिलो चरणको १ महिनाको अवधिमा करिव २० हजार जनाकाे निशुल्क मुख स्वास्थ्य परिक्षणसँगै स्वस्थ मुख सम्बन्धी प्रशिक्षण दिइने रोटरी क्लव अफ लुम्बिनी स्टार्सका चार्टर्ड प्रेसिडेन्ट यादव भण्डारीले बताए ।

बुटवल पुष्पलाल पार्क स्थित आधुनिक समाज डेन्टल केयर प्रा लि मा सञ्चालन हुने महाअभियानमा दैनिक १० जना चिकित्सकहरूबाट निशुल्क मुख परिक्षण र मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिइने अभियानकर्ता अमृत भुषालले जानकारी दिए ।