बुटवल,३ भदौ ।
रुपन्देही-३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका दुई छुट्टाछुट्टै समुहबाट उम्मेदवारी दिने भएका छन् ।
उपनिर्वाचनका लागि दल दर्ता नभएपछि रेशम चौधरी पक्षको नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवार उठाउने तयारी गरेको हो ।
निर्वाचन आयोगले रेशम चाैधरी पक्षलाई आधिकारिकता नदिएपछि रुपन्देही-३ को उपनिर्वाचनमा साे समुहले स्वतन्त्र रूपमा छुट्टै उम्मेदवार उठाउने भएको हो । श्रीमती रन्जिता श्रेष्ठसँग विवाद भएपछि नागरिक उन्मुक्ति पार्टी आयोगमा दर्ता समेत नभएको प्रसंगमा सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्दै नाउपाका संरक्षक समेत रहेका चाैधरीले उक्त कुरा बताएका हुन् ।
उनले भनेका छन् ‘निर्वाचन प्रायोजनको लागि दल दर्ता नहुनु मेरो कमजोरी होइन । म अध्यक्ष हो र ? केन्द्रिय समितिको बैठक बसाएर निर्णय बुझाए भैहाल्थ्यो त । न केन्द्रिय समितिको बैठक बसाउने,न लेखापरीक्षण गराउने,न पार्टीलाई चलाएमान बनाउने ? अनि दोष जति मेरो थाप्लोमा थुपारेर आफू चोखो बन्ने ? अहिलेपनि तुरुन्त केन्द्रिय समितिको बैठक बोलाए भैहाल्यो नि । बाँकि मनोनीत साथीहरूलाई अध्यावधिक गराइदिनु,टण्टै साफ । दुश्मनको सल्लाहमा लागेर युद्ध कहिल्यै जितिन्न । हामी सहयोगी मात्रै होइन,सहयोद्धा पनि हौं । रह्यो कुरा रुपन्देहीको हाम्रो उम्मेदवार उठ्छ । म राजनैतिक ब्यक्ति हो । यहि साता देखि प्रचारप्रसारमा खटिन रुपन्देही आउँछु । समस्या चर्काउन तिर होइन,समाधान तिर लागौं । पार्टी बिभाजनका सहयोगीलाई दलबाट मात्रै होइन,समुहबाटै बहिष्कार गरौं ।’






