बुटवल,२ भदौ ।
ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित रूपन्देहीको बेलहियाबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको कानपुरस्थित नौवस्तीका २५ वर्षीय अभिषेक यादव रहेका छन् ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले बेलहियास्थित होटल मुक्तिनाथमा प्रवेश गर्न लागेको अवस्थामा उनलाई नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपाल र भारतका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरूको नक्कली शैक्षिक प्रमाणपत्रहरू, स्ट्याम्प, होलोग्राम, स्टिकर लगायतको सामग्रीसहित यादवलाई सीमावर्ती क्षेत्र बेलहियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख,प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका यादवको साथबाट नेपालको त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट एक सय थान, प्रमाणपत्र ३६ थान, स्ट्याम्प ३ थान, स्ट्याम्प प्याड ५ थान बरामद भएको प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए । उनका अनुसार यादवसँगबाट त्रिभुवन विश्वविद्यालय (२०१२) लिखित होलोग्राम ४ हजार ४० थान, उच्च माध्यमिक शिक्षा परिषद् (अंग्रेजीमा एचएसईबी) लिखित होलोग्राम २ हजार थान, राष्ट्रिय परिक्षा बोर्ड (अंग्रेजीमा एनईबी) लिखित होलोग्राम १ हजार ६ सय थान, अंग्रेजीमा सीटीईभीटी लिखित होलोग्राम १ हजार ९ सय थान बरामद भएको छ ।
त्यसैगरी भारतको एमिटी विश्वविद्यालय, जवाहारलाल नेहरु टेक्नोलोजिकल विश्वविद्यालय हैदराबाद, छत्रपति शिवाजी महाराज विश्वविद्यालय कानपुर, असम हाईर सेकेण्डरी एजुकेशन काउन्सिल, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालयको विभिन्न प्रकारका १२ सय बढी प्रमाणपत्रहरु, लेटरप्याड, एडमिट फर्म लगायतका नक्कली कागजात बरामद भएको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






