रात्रिकालीन बजार सञ्चालन गर्ने बिषय छिटो टुंगोमा पुर्याऔं : नगरप्रमुख पाण्डेय
बुटवल,२ भदौ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जिल्लामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डे सहित प्रहरी प्रशासन तथा विभिन्न कार्यालयका नव आगन्तुक कार्यालय प्रमुखलाई स्वागत गरेको छ ।
संघले आईतबार साँझ स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी उनीहरुलाई स्वागत गर्नुको साथै उत्कृष्ट शैक्षिक संस्था र शैक्षिक संस्थाको नेतृत्वमा पुगेका व्यक्तिहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा बुटवल उपमहामनगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको सामाजिक, सांस्कृतिक, आर्थिक, व्यवसायिक तथा राजनीतिक विकासमा समेत बुटवल उद्योग वाणिज्य संघको उल्लेखनीय योगदान रहेको बताए । बुटवलको ऐतिहासिक महत्व बोकेको पारी बुटवलको विकास र प्रवद्र्धनका लागि नगरपालिकाले विशेष प्राथमिकता दिएको बताउँदै उनलेे रात्रीकालिन बजार सञ्चालनमा जोड दिए ।
बुटवलको बजारलाई चलायमान बनाउनको लागि र बाह्य पर्यटकलाई आकर्षण गर्न रात्रीकालिन बजार अपरिहार्य रहेको बताउँदै उनले त्यसलाई पुरा गर्नेगरी सहयोगी बन्न व्यवसायिक संघसंस्थाहरुलाई आग्रह गरे । उनलेे यो विषयलाई अहिले एउटा टुंगोमा पुर्याउनै पर्नेमा जाेड दिए ।
कार्यक्रममा रुपन्देहीमा हालै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले समग्र जिल्लाको शान्ति सुरक्षा, विकास निर्माणका काम र व्यवसायिक वातावरण निर्माणमा कसैसंग कुनै प्रकारको सम्झौता हुन नसक्ने बताए । जिल्लामा खुला सिमा रहेका कारण सुरक्षा लगायतका अन्य प्रकारका चुनौती पनि रहेको स्मरण गर्दै उनलेे त्यसको व्यवस्थापनमा कुनै प्रकारको कमजोरी नहुने उल्लेख गरे ।
आगामी कात्तिक १७ हुन लागेको रुपन्देही क्षेत्र नं. ३ को उपचुनाव समेत रहेको स्मरण गर्दै उनले चुनावलाई समेत भय रहित र शान्तिपूर्वक वातावरणमा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।
रुपन्देही शिक्षा तथा स्वास्थ्यमा समेत छिमेकी जिल्लाहरुलाई सघाउने जिल्लाको रुपमा आफ्नो पहिचान बनाएको बताउँदै मुलुककै अग्रणी जिल्ला भएकाले यसका सम्भावना र चुनौतीहरु पनि उत्तिकै रहेको उनको भनाइ थियो ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालले मुलुकको औद्योगिक तथा व्यवसायिक वातावरण विग्रिएका कारण भएका उद्योगहरु तथा व्यापार व्यवसाय समेत बन्द हुने स्थितीमा पुगेको बताउँदै पलायन हुन खोजेका उद्योगी व्यवसायीलाई पुनस्थापित हुने वातावरण निर्माणमा सहयोगी बन्न नगरप्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे । उनले झन्झटिला ऐन कानुनहरुलाई सुधार गर्नुपर्नेमा जाेड दिए ।
त्यस अवसरमा बुटवलको कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझालाई संघमा सम्मान गरिएको थियो । उक्त विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका वझा, बुटवलका सिद्धार्थ गौतमबुद्ध क्याम्पस सञ्चालक समितिको अध्यक्षमा निर्वाचित संघका पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, बुटवल उद्योग वाणिज्य संघको नेतृत्वमा स्थापित बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले तेस्रो पटक विश्व विद्यालय अनुदान आयोगबाट क्यू.ए.ए. प्राप्त गर्न सफल भएकोमा उक्त क्याम्पसलाई पनि सम्मान गरिएको थियो ।
त्यसैगरी पहिलो पटक क्यू.ए.ए. प्राप्त गरेको बुटवल कालिका क्याम्पसलाई पनि सम्मान गरिएको संघले जनाएको छ । लुम्बिनी बाणिज्य क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ र क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्याय र बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
त्यस्तै हालै सरुवा भई रुपन्देही आएका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डे, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरिक्षक सन्तोष सिंह राठौर, ससस्त्र प्रहरी बल २७ नं. गण हेडक्वाटर रुपन्देहीका प्रहरी वरिष्ठ उपरिक्षक मेखराज जोशी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरिक्षक मित्रबन्धु शर्मा, राष्ट्रिय अनुसन्धान आयोग उप अनुसन्धान निर्देशक प्रकाश आचार्य, आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत हरि बस्याललाई स्वागत गरिएको संघले जनाएको छ ।
कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख डा. ताराप्रसाद उपाध्याय, बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझा, पत्रकार रामराज पोख्रेल, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी लगायतले आ आफ्नो भनाई राखेका थिए ।






