काठमाडौँ,२ भदौ ।
लुम्बिनी, बागमती र कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभरकाे माैसम सामान्य बदली भई बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई तथा पहाडी भूभागसहित देशका बाँकी पहाडी क्षेत्रमा मध्यम वर्षाकाे सम्भावना रहेको छ । बाँकी तराई भूभागका एक–दुई स्थानमा समेत वर्षा हुनसक्ने अनुमान छ ।

त्यस्तै लुम्बिनी प्रदेशको तराई, कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको तराई र पहाड, बागमती प्रदेशको पहाड तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारण र सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको कारण नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको महाशाखाले जनाएको छ ।