राेल्पा,१ भदौ ।
जंगली च्याउ खाँदा रोल्पामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी परेका छन् ।

मृत्यु हुनेमा जिल्लाकाे परिवर्तन गाउँपालिका वडा नम्बर २ राङसीकी ७४ वर्षीया निर्मला वली रहेकी छिन् ।

जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेकी उनको दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै च्याउ खाँदा बिरामी परेका निर्मलाका श्रीमान् ८१ वर्षीय भागीराम वलीको साेही अस्पतालमा उपचार भइरहेको छ । वली दम्पतीले साउन २७ गते बेलुका स्थानीय जंगलबाट खोजेर ल्याएको च्याउको तरकारी खाएका थिए ।

च्याउ खाएपछि बिरामी परेका उनीहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि साउन २९ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । निर्मलाको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।