काठमाडौँ,१ भदौ ।
आज दिउँसो पनि देशभरकाे माैसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी भूभागमा वर्षा हुने सम्भावना छ । साथै अन्य प्रदेशका पहाडी भागमा समेत वर्षा हुने अनुमान गरिएको छ ।

बागमती प्रदेशको पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

नेपालमा मनसुन हाल केही कमजोर अवस्थामा रहेको महाशाखा ले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरिरहेकाले यसको सक्रियता घटेको हो । तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले वर्षाको प्रभाव भने कायम रहने अनुमान गरिएको महाशाखाले जनाएको छ ।