कपिलवस्तु,२९ साउन ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-७, सुखरामपुर स्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो साढे २ बजेतिर गाउँनजिकै रहेको सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय रञ्जित बढईका १२ वर्षे छोरा वर्षीय आकाश बढई र राजेन्द्र रैदासका ११ वर्षे छोरा अम्बर रैदासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी,प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
पोखरीमा डुबेर तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयले बालकको शव पोखरीबाट निकाली पोस्टमार्टमका लागि बहादुरगन्जस्थित शिवराज अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यसअघि साउन १५ गते पनि वाणगंगा नगरपालिका-५ कोपवाका दुई बालकको घोलामा नुहाउन गएका बेला डुबेर मृत्यु भएको थियो ।






