सुरक्षाका लागि सुरुदेखिनै अलग्गै कोठामा राखिएको र सबै सेवा सुविधा उपलब्ध गराइएको दाबी
बुटवल,२९ साउन ।
सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बस्ने काेठाकाे झ्यालमा राखिएको प्लाइउड हटाएर जाली लगाइएको कारागार कार्यालयले जनाएको छ ।
रुपन्देही जिल्ला कारागार कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी पूर्वगृहमन्त्री लामिछानेको सुरक्षाका लागि उनलाई पहिलेदेखि नै अलग्गै एउटा कोठामा राखिएको जनाउँदै लामिछाने बस्ने काेठाकाे झ्यालमा राखिएको प्लाइउड हटाएर जाली लगाइएको
जानकारी गराएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘यस कारागारमा विगत चार महिनादेखि सहकारी ठगी संगठित अपराध मुद्दामा थुनुवाको रूपमा रहनुभएका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं हाल निलम्बित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी निजलाई प्रारम्भदेखि नै छुट्टै बन्दीगृहको (अलग्गै एउटा कोठामा) राखिएको छ । उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको छ । उक्त कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखिसकिएको छ । निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ ।’
कारागार कार्यालयका अनुसार २५० जना बन्दी राख्ने क्षमता रहेको रुपन्देही कारागारमा हाल ६४० जना बन्दी छन् । क्षमताभन्दा तीन गुणा बढी बन्दी रहेको अवस्थामा पनि कारागारमा उपलब्ध स्रोतसाधनको परिचालन गरी कानुनबमोजिमका सेवा-सुविधा समयमै उपलब्ध गराइरहेको कारागार कार्यालयकाे दाबी छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कारागारको भौतिक संरचना र क्षमताअनुसार बन्दीहरुलाई खाने, बस्ने, हिँड्डुल गर्ने, पढ्ने (विद्यालय शिक्षा / पत्रपत्रिका), टेलिभिजन हेर्ने र आफन्तहरूलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रूपमा उपलब्ध गराउँदै आएको छ । कारागार ऐन, २०७९ तथा कारागार नियमावली, २०२० बमोजिम अशक्त, अपांग, ज्येष्ठ नागरिक तथा सुरक्षा जोखिम भएका व्यक्तिहरूलाई थप सुविधासमेत उपलब्ध गराउने गरिएको छ । थप सुविधा उपलब्ध गराउने सम्बन्धमा कानुनबमोजिमका सकारात्मक विभेदबाहेक बन्दीहरूको बीचमा अन्य विभेद गरिएको छैन । कारागार प्रशासनको तर्फबाट समय समयमा कारागारभित्रको वस्तुस्थिति अवलोकन गर्ने बन्दीहरूका गुनासो सुन्ने र स्रोत-साधनले भ्याएसम्म त्यसको सम्बोधन गर्ने कार्य गरिँदै आएको छ ।’






