काठमाडौं,२७ साउन ।
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति खतिवडाले राजीनामा दिएका हुन् । संघीय निजामति विधेयकलाई समितिबाट पारित गर्दा समितिले कर्मचारी प्रशासनको दाउपेच र शक्ति प्रदर्शन झेल्नुपरेको उनको भनाइ छ । कुलिङ अफ पिरियडको गडबडी छानविन विशेष समितिले सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर गरेको थियो ।

आफूले विधेयक गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति अन्तिमसम्म लागेको उनको भनाइ छ । निजामती विधेयकमा भएको त्रुटी आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको दलिल प्रस्तुत गर्दै उनलेे कर्मचारीकाे विश्वासमा गहिरिएर नहेर्नु आफ्नो कमजोरी भएको स्वीकार गरे ।

उनले भने, ‘राजनीतिमा निष्ठाको कमि रहेको अवस्थामा म इतिहासमा मेरो नाम दर्ज गर्न चाहान्छु । यस्ता कुरामा सबैको ध्यान पुगोस् । संघीय निजाममित विधेयक पारित गर्दा राज्य व्यवस्था तथा सुशासन समितिले धेरै कष्ट व्यहोर्नुप¥यो । उक्त विधेयकमाथिको दाउपेच र शक्ति प्रदर्शनको खेल तपाईहरुले पनि देख्नुभयो । तिनीहरुको दबाब मैले, संसदीय समिति र सदनले पनि झेल्नु नै पर्यो । समितिकै सदस्यहरु संसदमा हुनुहुन्छ । उहाँहरुले पनि कुनै न कुनै झमेला खेप्नुभएकै छ ।’

उनले आफ्नो सभापतित्वको समयमा समितिबाट महत्वपूर्ण विधेयकहरु पारित गर्न सफल भएको दाबी गरे ।