बुटवल,२७ साउन ।
घुस लिएको आराेपमा रूपन्देहीको कोटहीमाई गाउँपालिका–५ बाट सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रूपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्री रहेका छन् ।
उनलाई सेवाग्राहीबाट १५ हजार रूपयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत खत्रीले सीमापारी भारतबाट भन्सार छली अवैधरुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना एवं उजुरीकाे आधारमा त्यहाँ पुगेको अख्तियारकाे टोलीले उनलाई घुुस रकमसहित नियन्त्रणमा लिएको हो ।
खत्रीलाई सोमबार कोटहीमाई–५ बाट नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको पौडेलले जानकारी दिए ।






