काठमाडौँ,२३ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी सभापति रवि लामिछाने निर्दोष रहेको भन्दै उनीमाथि प्रतिशोधपूर्ण तरिकाले अभियोजन लगाइएको दाबी गरेको छ ।
शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले लामिछानेमाथि लगाइएको अभियोग राजनीतिक प्रतिशोध बाहेक केही नभएको भन्दै कानुनी र राजनीतिक लडाइँ जारी राख्ने निर्णय गरेको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनिष झाले सभापति लामिछानेमाथि लगाइएको अभियोग राजनीतिक प्रतिशोध बाहेक केही नभएको भन्दै कानुनी र राजनीतिक लडाइँ जारी राख्ने निर्णय गरेको जानकारी दिए ।
प्रवक्ता झाले अन्य दलका नेताहरूको नैतिक आचरणमाथि प्रश्न उठाउँदै सरकार र प्रहरी प्रशासनले दोहोरो मापदण्ड अपनाएको आरोप लगाए ।
अदालतको आदेश र फैसलाबिचको भिन्नतालाई स्पष्ट पार्दै सभापति लामिछानेलाई दोषी करार भइनसकेको उनलेे बताए । ’अहिले आएको अदालतको फैसला होइन, आदेश हो । उहाँ गिल्टी भइसक्नुभएको छैन, दोषी करार हुनुभएको छैन,’ उनले भने, ’यो मान्छे बाहिर बस्यो भने अनुसन्धान प्रभावित पार्छ भनेर पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो, निर्णय होइन ।’ उनले धरौटीमा रिहा हुँदा आफूहरू सन्तुष्ट भए पनि अहिलेको आदेशले निराश नभएको र कानुनी लडाइँ लड्ने बताए ।
सांसद हरि ढकालले संसदीय छानबिन समितिको प्रतिवेदनलाई आधार बनाउँदै सभापति लामिछानेको संलग्नता कहीँ पनि नदेखिएको जिकिर गरे ।
सभापति लामिछानेले गोर्खा मिडियामा गए बराबरको रकमको कानुनी दायित्व बेहोर्न तयार छु भनेर सार्वजनिक रूपमै प्रतिबद्धता जनाएको भिडियो लाखौँले हेरेको ढकालले स्मरण गराए ।
रास्वपाले सुरु गरेको ’जनअदालत’ अर्थात् हस्ताक्षर अभियानमा ३२ लाखभन्दा बढी नागरिकले हस्ताक्षर गरिसकेको समेत उनलेे जानकारी दिए ।
सांसद ढकालले आफूहरू कानुनी लडाइँमा रहेको र अन्तिमसम्म लड्ने बताए ।






