काठमाडौँ,२३ साउन ।
सरकारले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न विभिन्न शुल्कमा भारी छुट दिने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार २०८३ साल भदौ मसान्तसम्मका लागि विभिन्न ४ प्रकारका शुल्कमा छुट तथा सहुलियत प्रदान गरिएको जनाएको हो ।

मन्त्रालयका सह प्रवक्ता एवं सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायद्वद्वारा जारी विज्ञप्तिमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा ४ प्रकारका छुट दिइएको उल्लेख छ ।

यात्रु सेवा शुल्कमा पूर्ण छुटः अन्तर्राष्ट्रिय उडानका हवाई टिकटमा लाग्ने प्रति यात्रु रु. ३,००० को यात्रु सेवा शुल्क पूर्ण छुट हुने भएको छ ।

पर्यटन शुल्कमा पूर्ण छुटः यस्तै, हवाई टिकटमा नै लाग्ने प्रति यात्रु रु. १,००० को पर्यटन शुल्क पनि पूर्ण रूपमा छुट हुने भएको छ ।

ल्यान्डिङ, पार्किङ र न्याभिगेसन शुल्कमा पूर्ण छुटः यी विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरूका लागि लाग्ने पार्किङ, ल्यान्डिङ र न्याभिगेसन (सञ्चार तथा उड्डयन सहायता) शुल्क पनि पूर्ण रूपमा छुट गरिएको छ ।

ग्राउन्ड ह्यान्डलिङमा ७५% छुट : विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने ग्राउन्ड ह्यान्डलिङ सेवाको शुल्कमा ७५ प्रतिशत छुट प्रदान भएको छ ।

सरकारको यो निर्णयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूका लागि यी दुई विमानस्थलमा उडान सञ्चालन गर्न लाग्ने खर्च उल्लेख्य रूपमा घट्नेछ ।

यसले गर्दा काठमाडौँ बाहिरबाट पनि सीधा अन्तर्राष्ट्रिय उडान सुरु गर्न वायुसेवा कम्पनीहरू प्रोत्साहित हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।