काठमाडौँ,२२ साउन ।
नेपाल शिक्षक महासंघले शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने भएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, बिहीबार काठमाडौंमा बसेको बैठकले पूर्वसहमति अनुसार विधेयक अघि नबढेको निष्कर्ष निकाल्दै आन्दोलनको घोषणा गरेको हो ।

“भदौ दोस्रो साताको प्रारम्भबाट आन्दोलन थाल्ने निर्णय भएको छ,” अध्यक्ष सुवेदीले भने । “आन्दोलनका कार्यक्रमका लागि महासंघको आन्दोलन परिचालन समिति खाका तयार गर्नेछ र त्यसलाई राष्ट्रिय समितिले पारित गर्नेछ ।”

त्यसअघि भदौ ३ र ४ गते राष्ट्रिय समितिको पूर्ण बैठक बोलाइएको छ । सुवेदीले आफूलाई शिक्षा समितिमा विधेयकको वर्तमान स्थिति बारे प्रष्ट जानकारी नभएको उल्लेख गर्दै, विधेयक प्रतिनिधिसभामा दर्ता भएपछि मात्रै त्यसको समिक्षा र मूल्याङ्कन गरिने बताए ।

बैठकमा सरकारसँग भएको विगतको सहमति र त्यसपछि देखिएको प्रगति वा गतिरोधबारे समीक्षा गरिएको जनाइएको छ ।

अध्यक्ष सुवेदीका अनुसार, “शिक्षक तथा शिक्षा क्षेत्रका समस्यालाई सम्बोधन गर्ने गरी विधेयक आउने आशा न्यून देखिएको” महासंघको निष्कर्ष छ । महासंघले समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट पार्ने खालको विधेयक नआउने सङ्केत देखिएको ठहर गरेको छ ।