बुटवल,२१ साउन ।
शैक्षिक उत्कृष्टताको मानक मानिने गुणस्तर प्रत्याभूति तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गर्न सफल बुटवल कालिका क्याम्पसले खुसियाली सभा सम्पन्न गरेको छ ।
स्थापनाको छोटो समयमै क्यूएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको खुसियालीमा क्याम्पसले बुधबार खुसियाली सभाकाे आयोजना गरि खुसी साटासाट गरेको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले पश्चिम क्षेत्रको शैक्षिक नगरी बुटवलकाे कालिका क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा बधाई ज्ञापन गरे ।
दक्ष जनशक्ति उत्पादन गर्दै आएको कालिका क्याम्पसले आगामी दिनमा थप प्रगति गर्ने विश्वास ब्यक्त गरे ।
व्यावहारिक शिक्षा र जीवनोपयोगी सीप अभिवृद्धिका लागि क्याम्पसले समयसापेक्ष कोर्षहरू पनि भित्र्याउन आवश्यक रहेको मेयर पाण्डेयको भनाइ छ ।
बुटवलको समृद्धिकाे आधार यहाँको शैक्षिक विकास
रहेको भन्दै नगर प्रमुख पाण्डेयले देशभरका विद्यार्थीहरूलाई अध्ययनका लागि बुटवलमा आकर्षित गर्ने योजना ल्याए बुटवल उपमहानगरपालिका हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए ।
क्याम्पस प्रमुख घनश्याम पाठकले यो उपलब्धिलाई शिक्षा सुधारको यात्रामा ठूलो फड्कोका रूपमा लिएको बताए ।
‘क्यूएए प्रमाणपत्रले कालिका क्याम्पसलाई शैक्षिकरूपमा विश्वसनीय, अझ पारदर्शी, उत्तरदायी र सक्षम बनाउन उत्प्रेरित गरेको छ,’ पाठकले भने, ‘यसलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय स्तरका युनिभर्सिटीको वातावरण कालिकामा पाउने बनाउन लागि परेका छौं ।’
क्पाम्पस सञ्चालक समितिका अध्यक्ष हाेम गलामीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका शैक्षिक सल्लाहकार दलबहादुर गुरूङ,क्पाम्पस सञ्चालक समितिका पुर्व अध्यक्ष तथा बुटवल उपमहानगरपालिका वडा नं ११ का वड अध्यक्ष रामचन्द्र क्षेत्री,क्पाम्पस सञ्चालक समितिका पुर्व अध्यक्ष अर्जुनमान सैजु,बुटवल उद्योग बाणिज्य संघ रूपन्देही अध्यक्ष हरिप्रसाद अर्याल,लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक सन्ताेश सिं राठौर,कालिका मानवज्ञान माविका अध्यक्ष नित्यानन्द ज्ञवालीलगायतले आ आफ्नो भनाइ राखेका थिए ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा निर्धारित सबै मापदण्ड पूरा गर्दै यही साउन १६ गते औपचारिक रूपमा यो मान्यता प्राप्त गरेको हो ।
विं.२०७० मा बुटवल रामनगरस्थित कालिका माविको भवनमा स्थापना भएको क्याम्पस अहिले आफ्नै परिसरमा ठूलो भवनमा सञ्चालित छ । ३५ जना विद्यार्थीबाट कक्षा शुरू गरेको क्याम्पसमा अहिले ४ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।
क्याम्पसमा स्नातक तहमा बीबीएस, बीसीए, बीएड लगायतका विषयको पढाई हुन्छ । स्नातकोत्तर तहमा ग्रामीण विकास (आरडी) र अंग्रेजी पढाइ हुँदै आएकोमा यही शैक्षिक सत्रदेखि एमबीएको कक्षा पनि सञ्चालन गर्ने तयारीमा छ ।







