काठमाडौँ,२० साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेकाे छ । भिजिट भिसा प्रकरणको संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै ती दुवै दलले संसद बैठक बहिष्कार गरेका छन् ।
आज बसेकाे प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद विराजभक्त श्रेष्ठलाई बोल्न समय दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएको भन्दै आफूहरूको माग अनुरूप छानबिन समिति नबन्दासम्म विरोध जारी रहने बताए । साथै, उनले मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएको भन्दै छानबिन गर्न माग गरे ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद दीपकबहादुर सिंहलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाे भन्दै संसदीय बिशेष समिति गठन नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए । आफूहरूले संसद् बैठक बहिष्कार गर्ने र बहिष्कार गर्ने दिनको भत्ता पनि नलिने उनलेे बताए ।
दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।






