काठमाडौँ,२० साउन ।
लगातारको बर्षाका कारण देशका साना तथा ठूला नदिहरूमा जल सतह बढ्दो क्रममा रहेकोले नदि किनार आसपास बस्नेहरूले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान एक सुचना जारी गरि केही दिनयता देशका धेरैजसो ठाउँमा बर्षा भइरहेको जनाउँदै ठूला तथा साना नदिहरूमा आकस्मिक बाढीकाे जाेखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरेको हो ।
हाल कर्णाली र महाकाली नदी सतर्कता आसपास रहेको र कोशी, नारायणी, बागमती, कमला, राप्ती, बबई, कन्काई लगायतका नदीहरू सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ ।
तर, मंगलबार काभ्रे, मकवानपुर, बाँके, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरूमा बहने साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । साथै, देशका अन्य धेरै जिल्लामा मध्यम जोखिमको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
हाल देशभर मनसुन सक्रिय रहँदा अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा तराईमा रहेकाले लुम्बिनी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ ।








