काठमाडौँ,१९ साउन ।
मेडिकल ब्यवसायी समेत रहेका दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालतले थुनामा राखी मुद्दाको बाँकी कारबाही गर्न आदेश दिएको थियो । उच्च अदालतले प्रसाईसहित चार अभियुक्तलाई उच्च अदालतले बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्ने मौका दिएको हो ।

तीनकुने घटनामा प्रसाईँसँग उच्च अदालतले ३ लाख मात्रै धरौटी माग गरेको छ । तर, बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको छ । बैंकिङ कसुरमा उनीविरूद्ध १८ करोड ४४ लाख रूपैयाँ बिगो थियो ।

तीनकुने घटनाका अभियुक्तहरू सुशील बराल र तारा राजावादी भन्ने सरोज गौतमसँग ५०-५० हजार रूपैयाँका दरले धरौटी माग गरिएको उच्च अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

उनका अनुसार, डण्डपाणि रेग्मीसँग १० हजार रूपैयाँ धरौटी माग भएको छ । जेठ २९ गते दुर्गा प्रसाईंसहित ७ जनालाई जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।

उनीहरू हाल डिल्ली बजार कारागारमा छन् । गत चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक भएपछि २ जनाको ज्यान जानुका साथै सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो ।

त्यस घटनामा ३२ जनालाई भने जिल्ला अदालतले नै धरौटीमा रिहा गरेको थियो ।

यस घटनामा विभिन्न कसुरमा ६५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । प्रसाईँलाई लगाइएको मध्ये राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराधतर्फ कसुरदार नदेखिएको यसअघि जिल्ला अदालतले ठहर गरेको थियो । आपराधिक उपद्रवमा संलग्नता देखिएको भन्दै जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।