काठमाडौं,१९ साउन ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमवार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

प्रकाशित नतिजामा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् ।
सोमबार सार्वजनिक गरिएको नतिजाअनुसार, नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ३६.४९ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भएका छन् ।

गत वर्ष नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका थिए भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका थिए । गत वर्षको तुलनामा ९ प्रतिशतले नतिजामा सुधार आएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए ।

नतिजा सार्वजनिक गर्नुअघि आइतवार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो ।

बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने भए पनि गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूकाे आन्दोलनका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको हो ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।

यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।

यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिनेछ । यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।