काठमाण्डाै,१८ साउन ।
नेपालकाे इन्टरनेट बजारमा मुख्य ५ वटा कम्पनीहरूको प्रभुत्व जमाएका छन् । इन्टरनेट सेवा प्रदायक शीर्ष ५ वटा कम्पनीहरूले कुल बजारको ७२ प्रतिशत हिस्सा ओगटेकाे नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको तथ्यांक अनुसार गएको असारसम्म देशभर ३२ लाख ४८ हजार ६७४ जना फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट ग्राहक रहेकामा सबैभन्दा धेरै ग्राहक संख्या वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडका छन् । १० लाखभन्दा धेरै ग्राहक बनाएर अग्रस्थानमा रहेको यो कम्पनीको बजार हिस्सा ३१ दशमलव १७ प्रतिशत पुगेको छ ।
ग्राहक संख्याकाे हिसाबले दोस्रो स्थानमा रहेको डिश मिडिया नेटवर्क लिमिटेडले पनि पछिल्लो समय तीव्र रूपमा बजार विस्तार गरेको छ । डिश मिडियाका ३ लाख ६१ हजार ३९४ जना ग्राहक छन् भने बजार हिस्सा ११ दशमलव १२ प्रतिशत ओगटेको छ ।
सरकारको प्रत्यक्ष लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका भने ३ लाख ५४ हजार ४३८ जना ग्राहक रहेका छन् । नेपाल टेलिकम (एनटीसी) ले १० दशमलव ९१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
बजार हिस्साको आधारमा चौथो स्थानमा रहेको भायानेट कम्युनिकेशन लिमिटेडका ग्राहक ३ लाख १९ हजार जना रहेका छन् । अर्को कम्पनी सुबिसु केबलनेट लिमिटेडका ग्राहक २ लाख ९९ हजार जना रहेकाे प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।



