काठमाडौँ,१८ साउन ।
आज दिउँसो सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाकाे पनि सम्भावना रहेको छ ।

आज राति पनि देशभरको मौसम सामान्यतया बदली भई कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित बाँकी तराईका धेरै स्थानहरूमा तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेको कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बाढी, डुबान वा पहिरोजस्ता सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई अनुरोध गरेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेकोले देशभरको मौसम सामान्यतया बदलीको अवस्थामा रहेको महाशाखाले जनाएको छ ।