काठमाडौँ,१६ साउन ।
आज दिउँसो देशभरकाे माैसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

हाल देशभर मनसुन सक्रिय अवस्थामा रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकाे माैसम सामान्य बदलीकाे अवस्थामा रहेको थियो । मधेश प्रदेशमा मौसम मुख्यतः सफा देखिएको छ, यद्यपि केही स्थानमा आंशिक बदली पनि देखिएको महाशाखाले जनाएको छ । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका एक-दुई स्थानमा पनि वर्षा जारी छ ।