काठमाडौँ,१५ साउन ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रूपमा राख्नुपर्ने बताएका छन् ।

बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मन्त्रालय अन्तरगतका राष्ट्रिय गौरवका आयोजनाको विषयमा भएको छलफलमा मन्त्री पाण्डेले मन्त्रालय अन्तरगत पाँच आयोजना रहेको भएपनी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भइसकेकोले यी दुई आयोजना अब राष्ट्रिय गौरवका संरचनामा राख्नुपर्ने बताएका हुन् ।

देशले अब यी आयोजनालाई राष्ट्रिय गौरवका संरचनामा राख्दै आयोजनाबाट फाइदा लिनुपर्ने मन्त्री पाण्डेले बताए । यस्तै पशुपति र लुम्बिनीको गुरु योजना अनुसार काम अगाडी बढाउन सरकार प्रतिबद्ध रहेको मन्त्री पाण्डेको भनाइ थियो ।

उनलेे निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरव आयोजनाको रूपमा राखेको भएपनि यो निर्माणमा नै अन्योल रहेको बताए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशको लागि अपरिहार्य रहेकाले यसको निर्माण र सञ्चालन मोडालिटी बनाएर अगाडी बढ्ने मन्त्री पाण्डेले बताए ।