परासी,८ साउन ।
अत्यधिक गर्मी बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले तीन दिन विद्यालयमा बिदा दिएको छ ।
चर्को घाम र तातो हावा चलेका कारण बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बिहीबार एक सूचना जारी गर्दै यही साउन ९, १० र ११ गते सम्म पालिका भित्रका सबै शैक्षिक संस्थामा बिदा दिन निर्देशन दिएका हुन् ।

दिउँसोको समयमा बाहिर हिँडडुल गर्न कठिनाइ हुने र केही विद्यालयमा जस्तापाताको छाना भएका कारण अत्यधिक गर्मी हुने भएकाले बिदा दिइएको गाउँपालिकाले जनाएको छ । जिल्लाको सदरमुकाम परासी र आसपासको क्षेत्रमा केही दिनदेखि तातो हावा चल्ने र गर्मी बढेपछि जनजिवन प्रभावित बनेको छ । जिल्लाका अन्य पालिकाले पनि बिदा दिने तयारी गरेका छन् ।