काठमाडौ,८ साउन ।
भिजिट भिसा प्रकरण प्रकरणको निश्पक्ष छानबिन हुनुपर्ने लगायतका माग राखेर संसद अबरोध गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज ५९ औं दिन पनि संसद अबरोध जारी राखेका छन् ।
दुवै दलले ५९ दिनदेखि प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै आएका छन् । अवरोधका बाबजुत प्रतिनिधि सभाको बैठक भने चलिरहेको छ । आफ्नो अवरोधको अर्थ नभएपछि दुवै दलका सांसदहरूले पछिल्लो समय बैठक सुरु भएपछि आफ्ना कुरा राख्ने र सभाबाट बाहिरिने गरेका छन् ।
आज ५९ औं दिन पनि दुवै दलका सांसदहरू आफ्ना कुरा राखेर सदनबाट बाहिरिएका हुन् ।
दिउँसो १ बजेका लागि बाेलाइएकाे बैठक केही ढिलोगरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध गरे ।
सभामुखले बाेल्न समय दिएपछि भिजिट भिसा प्रकरणको निश्पक्ष छानबिनका लागि सरकार तयार नभएको आरोप लगाए । भिजिट भिसाका नाममा विदेश जानेसँग अपारदर्शी आर्थिक लेनदेन हुने गरेको भन्दै त्यस विषयमा अध्ययन गर्न उच्चस्तरीय न्यायीक आयोग गठन हुनुपर्ने उनीहरूको माग छ ।
साेही माग राखेर उनीहरूले १३ जेठ २०८२ देखि प्रतिनिधि सभामा अवरोध गर्दै आएका छन् । १५ जेठमा बजेट प्रस्तुत गर्न दिएता पनि बाँकी बैठकका गतिविधिमा भाग लिएका छैनन् ।
सुरुमा वेल घेराउ र नाराबाजी गरेका रास्वपाका सांसदहरूले केही समय वेलमै पलेंटी कसेर बसेर विरोध जनाए । पछिल्लो समय आफ्ना कुरा राख्ने र बाहिरिने गर्दै आएका छन् ।
विगतमा झैँ बिहीबारको बैठक सुरु भए लगत्तै दुवै दलका सांसदहरू उठेर बिराेध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले बाेल्न समय दिएपछि पार्टीका तर्फबट बोल्दै रास्वपाकी सांसद तोसिमा कार्कीले सरकारले दमनकारी शैलीमा राज्य चलाउन उद्धत रहेको आरोप लगाइन् ।
ललितपुरमा मन्त्री क्वार्टर बनाउने नाममा नागरिकलाई हिड्न गाह्रो हुने गरी संरचना बनाउन लागि परेको उनलेे बताइन् ।
सरकार बन्दा कांग्रेस र एमालेले संविधान संशोधन र सुशासनको प्रतिबद्धता गरेको तर, व्यवहारमा ठिक उल्टो रहेको उनको भनाइ थियो ।
भिजिट भिसाको नाममा भएको अपारदर्शी लेनदेनबारे छानबिन माग गर्दा आफूहरूको आवाज नसुनिएको उनको गुनासो छ ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्नैपर्ने उनको माग छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपक सिंहले भिजिट भिसाको विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने बताए । उनलेे संसदीय छानबिन समिति नबनेसम्म संसद्को गतिविधिमा भाग नलिने अडान दोहोर्याए ।






