बुटवल,५ साउन ।
बुटवल उपमहानगरपालिका वडा नं ८ वडा कार्यालयले विद्यालयलाई लक्षीत गरि ट्राफिक सचेतना सम्बन्धि हाेर्डिङ बाेर्ड राख्ने कार्य सुरु गरेको छ ।

विद्यालय क्षेत्र वरपरकाे सडकमा हुनसक्ने सम्भावित दुर्घटना न्युनिकरण गर्ने उदेश्यले ट्राफिक सचेतना सम्बन्धि हाेर्डिङ बाेर्ड राख्ने कार्य सुरु गरिएको बुटवल उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले जानकारी दिए ।

बिशेषगरि विद्यालय खुल्ने समयभन्दा एक घण्टा अघि बिहान ९ बजेदेखि १० बजेसम्म र अपरान्ह ३ बजेदेखि ५ बजेसम्म विद्यालय क्षेत्र वरपरका सडकमा सवारीसाधनकाे गति २० किलोमिटर प्रतिघन्टाकाे दरमा गुडाउन अनुरोधसहितको हाेर्डिङ बाेर्ड राख्ने कार्य सुरु गरिएको वडा अध्यक्ष पंगेनीले बताए ।

वडा भित्र रहेका सात विद्यालयलाई लक्षीत गरि हाल सात ठाउँमा हाेर्डिङ बाेर्ड राख्ने कार्य सुरु गरेको र तत्कालै थप सात ठाउँमा राख्ने तयारी भएको उनको भनाइ छ ।

विद्यालय खुल्ने र बन्द हुने समयमा तिब्र गतिमा सवारीसाधन चलाउदा दुर्घटनाको जाेखिम बढेकाले विद्यालय खुल्ने र बन्द हुने समयमा विद्यालय क्षेत्रमा सवारीसाधनकाे गति सिमित गरिएको वडा अध्यक्ष पंगेनीले बताए ।

सार्वजनिक तथा निजी सवारीसाधन भन्दा स्कुल बसहरूले तिब्र गतिमा गुडाउने गरेको सर्वसाधारणको गुनासो छ ।

बुटवल उपमहानगरपालिका वडा नं ८ काे सुख्खानगरमा रहेका एक सरकारीसहित सात विद्यालय रहेका छन् ।