काठमाडौ,५ साउन ।
बर्षासँगै बाढी–पहिरोका कारण कालिगण्डकी करिडोरसहित देशका मुख्य ६ राजमार्गमा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । पाँच ठाउँमा सडक एकतर्फी सन्चालनमा छन् ।
कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग, भेरी राजमार्ग, कोशी राजमार्ग, मेची राजमार्ग, तमोर करिडोरका ६ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले आज बिहान नौ बजे अध्यावधिक गरेको विवरणअनुसार कालीगण्डकी कोरिडोर अन्तर्गत नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका ३ तरङखोलामा बाढीका कारण बाटो अवरुद्ध भएको छ ।
रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ र २ मा पनि पहिरोले गर्दा शहीद राजमार्ग अवरुद्ध छ ।
रोल्पाकै परिवर्तन गाउँपालिका ५ ग्रामजिममा र बुर्तिबाङमा पहिरोले गर्दा शहीद राजमार्ग एकतर्फी भएको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ६ रिजिगारमा बाढीका कारण जाजरकोट डोल्पा भेरी कोरिडोर सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यसैगरी बागलुङको गलकोट नगरपालिका ११ काउसेमा पहिरो झरेकाले मध्यपहाडी लोकमार्ग र बागलुङकै बागलुङ नगरपालिका १० दब्ल्याङमा पहिरो झरेकाले कालिगण्डकी कोरिडोर एकतर्फी सन्चालनमा छन् ।
संखुवासभाको भोटखोला गाउँपालिका ४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
यसैगरी पाँचथरको फिदिम नगरपालिका ५ र हिलिहाङ गाउँपालिका ७ को संगमस्थल हेवाखोलामा बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध छ ।
पाँचथरकै तुम्वेवा गाउँपालिका २ मा पनि बाढीका कारण तमोर कोरिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
काठमाडौंको टोखा नगरपालिका २ अविरल वर्षाका कारण सडमा क्षति हुँदा काठमाडौं–नुवाकोट सडकखण्ड एकतर्फी सन्चालनमा छ ।







