काठमाडौँ,४ साउन ।
देशभर हाल सक्रिय मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम तथा मध्य नेपालतर्फ सामान्यभन्दा उत्तरतिर सरेको छ भने पूर्वी भू-भागमा औसत स्थानको आसपासमा रहिरहेको छ ।

अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली छ । अन्य भू-भागमा आंशिक बदली देखिएको छ । ती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जानकारी प्राप्त भएको छ ।

दिउँसोसम्म देशभर सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थान तथा अन्य भू-भागका केही भागहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा भारी देखि धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना छ ।

देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का देखि मध्यम वर्षा तथा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा सम्भावित भारी वर्षाका कारण भू-क्षय, बाढी, पहिरो, गेग्रान बहाव र शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम देखिएको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
ठूला-साना नदी तथा खोलाहरूको सतह बढ्ने सम्भावनाले नदी किनार र आसपासका निर्माण कार्य, कृषि, सडक तथा हवाई यातायात, स्वास्थ्य र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भएकाले सबै सरोकारवालाहरूले आवश्यक पूर्व तयारी गर्न महाशाखाको सुझाव छ ।