विद्या भण्डारीको सदस्यता नवीकरण स्थगित !
काठमाडौ,३ असार ।
नेकपा एमालेले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।
शुक्रबार र शनिबार बसेको पार्टीको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट उक्त प्रस्ताव पारित गरेको गौतमले बताए ।
‘विधान संशोधन सम्बन्धी प्रस्तावलाई पोलिटब्यूरो बैठकले स्वीकार गरेको छ । सामान्य सुझावलाई समावेश गर्नेगरी पारित गरेको छ । त्यसभित्रका महत्वपूर्ण कुरा भनेको पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने कुरा हो । त्यसलाई स्वीकार गर्दै आजको बैठकद्वारा निर्णय गरेका छौं,’ गौतमले भने ।
पोलिटब्युरो बैठकमा ६८ जना सदस्यले धारणा राखेको पनि गौतमले जानकारी दिए ।
यसैबीच नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण पेन्डिङ (स्थगित) अवस्थामा रहेको बताएका छन् ।
पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा गौतमले भण्डारीको सदस्यता नवीकरणबारे छलफल हुने बताएका हुन् ।
‘अहिले नवीकरण पेन्डिङ अवस्थामा छ । धारा ८ र ९ आकर्षित भयो भनेपछि त्यो जहाँ छ, स्थगन अवस्थामा छ भन्ने बुझिन्छ’, उनले भनेका छन् ।
भण्डारीले राष्ट्रपति हुनलाई पार्टी सदस्यता त्यागेकाले नवीकरणबारे आवश्यक निर्णय गर्नुपर्ने गौतमले बताए ।








