काठमाडौं,३ साउन ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकलाई थाती राखेर मिडिया काउन्सिल विधेयकमाथि छलफल सुरु गर्ने भएको छ । शिक्षा विधेयकमा शीर्ष तहमा सहमति नजुटेपछि समितिले मिडिया काउन्सिल विधेयक आइतबार छलफलमा लैजाने निर्णय गरेको हो ।

विद्यालय शिक्षा विधेयक शिक्षकको बढुवा, स्थायित्व, औसत अंक जस्ता विषयमा विवादित बनेको छ । शिक्षा मन्त्री रघुजी पन्तले पटक–पटक समय माग्दै विधेयक अगाडि बढाउन ढिलाइ गर्दै आएका छन् ।

असार १५ गतेभित्र पारित गर्ने सहमति भए पनि प्रमुख राजनीतिक दलहरूबीच सहमति कायम हुन नसक्दा विधेयक अड्किएको हो ।

यता मिडिया काउन्सिल विधेयक भने राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पुगेको छ । प्रेस काउन्सिललाई रूपान्तरण गरी स्वायत्त मिडिया नियामक निकाय बनाउन विधेयक ल्याइएको जनाइएको छ ।