काठमाडौ,३० असार ।
अध्ययन बिदा दुरुपयोग गर्ने ३९८ प्राध्यापकलाई पैसा फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयले ३५ दिने अल्टिमेटम दिएको छ ।

त्रिविले आइतबार सूचना नै जारी गरी अध्ययन बिदामा गएर नफर्किने र अध्ययन पूरा नगर्ने शिक्षक कर्मचारीलाई ३५ दिने अल्टिमेटम दिएको हो ।

अध्ययन संस्थान, संकाय, अनुसन्धान केन्द्र, क्याम्पस, विभाग तथा कार्यालयका शिक्षक तथा कर्मचारीले स्नातक, स्नातकोत्तर तह र विद्यावारिधि अध्ययन अनुसन्धानका लागि बिदा लिएर नफर्किएकाले ३५ दिनभित्र ब्याजसहित फिर्ता गर्न त्रिविले आइतबार सूचना निकालेको हो ।

प्राध्यापकहरू अध्ययन बिदा सकिएर पनि सेवामा नफर्किने गरेको समाचार प्रकाशित भएपछि त्रिविले खोजबिन गर्न समिति बनाएको थियो ।

उक्त समितिले ५ महिना बढी लगाएर खोज गर्दा ३९८ जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरिएको भेटिएको हो । जसमा नफर्किएका र अध्ययन पूरा नगरेका प्राध्यापकहरू रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा मानविकी तथा सामाजिकशास्त्र संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र इन्जिनियरिङ अध्ययन संस्थानका धेरै प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको पाइएको छ ।

मानविकी तथा सामाजिकशास्त्र संकायमा ११४ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा १०६ जना र इन्जिनियरिङ अध्ययन संस्थानमा ९९ जना छन् ।

त्यसैगरी, वन विज्ञान अध्ययन संस्थानमा २८ जना, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा १३ जना, चिकित्साशास्त्र अध्ययन संस्थानमा ९ जना, शिक्षाशास्त्र संकायमा ९ जना, व्यवस्थापन संकायमा १९ जना र कानुन संकायमा १ जना प्राध्यापक रहेका छन् ।

छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिने तर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी ३९८ जना प्राध्यापक रहेका छन् । अध्ययन पूरा गरेर नफर्किएमा वा बिदा लिएर अध्ययन पूरा नगरेमा पनि बिदाको अवधिमा त्रिविबाट खाईपाई आएको तलब फिर्ता गर्नुपर्ने नियम छ ।

त्रिविका प्राध्यपकले ५ वर्षसम्मको अध्ययन बिदा पाउने नियम छ । त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै त्रिविको नियममा शिक्षक लगातार ९० दिनसम्म विनासूचना क्याम्पस वा कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिने ब्यवस्था छ ।

यदि ३ वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा ३ वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ ।

अध्ययन बिदा सकिएपछि शिक्षक नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाईपाई आएको तलब भत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर शिक्षक कर्मचारीले कबुलियतनामा पनि गरेको हुन्छ ।

५ वर्षसम्म त्रिविको तलब खाने र बिदा सकिएपछि अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपका विभिन्न मुलुकमा बस्ने गरेको भेटिएको पाइएको छ ।

नफर्किएमा वा अध्ययन पूरा गर्न नसकेमा बिदामा बस्दा खाएको तलब–भत्ता फिर्ता गर्ने भनी शिक्षकले कबुलियत गरेका हुन्छन् । खाईपाई आएको तलब–भत्ता फिर्ता नगरेमा जायजेथाबाट असुल गर्नु भनी ३ जना साक्षी राखेर कबुलियत समेत गरिएको हुन्छ । तर अध्ययन बिदामा गएका धेरै प्राध्यापकले कुनै पनि नियम पालना गर्दैनन् ।

त्रिविको नियममा शिक्षक लगातार ९० दिनसम्म विनासूचना क्याम्पस वा कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिने भनिएको छ ।

२ अर्ब बढी रकम फिर्ता आउने

त्रिविले विज्ञ शिक्षक उत्पादन गर्न तलबी बिदा दिने गरेको छ । एकजना शिक्षकलाई पीएचडीको लागि बिदा दिँदा त्रिविलाई ४० लाखसम्मको आर्थिक भार पर्छ । यसरी अध्ययन बिदाको दुरुपयोग हुँदा त्रिविलाई २ अर्ब रुपैयाँ बढीको आर्थिक क्षति भएको छ । सो रकम त्रिविले कबुलयितनामा अनुसार दुरुपयोग गर्ने शिक्षक कर्मचारीबाट उठाउने भएको छ ।

उठ्ने रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने

त्रिविले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीबाट उठ्ने रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेटमा त्रिविले उक्त रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने उल्लेख गरेको छ ।

त्रिवि मातहतका विभिन्न निकायबाट उच्च शिक्षा अध्ययन बिदा उपयोग गरी विश्वविद्यालयमा नफर्केका, बिदा उपयोग गरी तोकिएको उपाधि हासिल नगरेका शिक्षक तथा कर्मचारीबाट असुल उपर हुने रकम निवृत्तिभरण कोष वृद्धिको स्रोतका रूपमा राखिएको रजिस्ट्रार केदारप्रसाद रिजालले बताए ।

अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीलाई कारबाही सुरु गरिएको रिजालले बताए ।