बुटवल,२७ असार ।
रूपन्देहीको तिलोत्तमामा अब डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कक्षा सञ्चालन हुने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले तिलोत्तमा नगरपालिकालाई डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न अनुमति दिएसँगै डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कक्षा सञ्चालन गर्ने बाटो खुलेको हाे ।

यद्यपि यसअघि नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माण गर्न २५ लाख बजेट विनियोजन गरिसकेको थियो । सिटिइभिटीले तिलोत्तमा नगरपालिका आफैंले सञ्चालन गर्नेगरी डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रमका लागि ४०÷४० जनाको कोटा समेत निर्धारण गरेको छ ।

सिटिइभिटीको पत्र प्राप्त भएसँगै अब पूर्वाधार निर्माण र अस्पतालसँग सम्झौता गरेर कार्यक्रम सञ्चालन प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ ।

डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ अध्ययनरत विद्यार्थीहरूकाे प्रयाेगात्मक सिकाईका लागि तिलोत्तमाले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल वा भैरहवाको भीम अस्पतालसँग सम्झौता गरिने जनाएको छ ।

तिलोत्तमा नगर पालिकाका नगर प्रमुख रामकृष्ण खाणले नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र वजेटमै प्राविधिक शिक्षालय संचालनका लागि नीति गत रुपमा निर्णय गरी रकम विनियोजन गरेको जानकारी दिए ।

सबैको प्रयत्नले प्राविधिक शिक्षालय सञ्चालनकाे बाटो खुल्नु सबैको लागि खुशी र यस क्षेत्रका लागि गौरवको विषय भएको नगर प्रमुख खांणले बताए ।

तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले सिटिइभिटीको निर्णयसँगै तिलोत्तमा नगर क्षेत्रमा प्राविधिक शिक्षाको पहुँच विस्तार हुने विश्वास गर । पूर्व देखि बर्तमान नगर प्रमुख ,उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको पहलकदमीमा यो उपलब्धी भएको उनकाे भनाइ छ ।

सिटिइभिटीको असार १७ गते बसेको २०९ औं बैठकले तिलोत्तमा नगरपालिकालाई पूर्वाधार निर्माणको लागि मनसाय पत्र दिइ आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

सोहीअनुसार सिटिइभिटीले नगरपालिकालाई पत्र पठाउँदै पूर्वाधार निर्माण प्रक्रिया अघि बढाउन अनुमति दिएको हो । प्राविधिक शिक्षालय सञ्चालन गर्न तिलोत्तमा नगरपालिकाले २०७७ सालमैं वडा नं १४ को खैरियामा भवन निर्माण गरिसकेकोमा त्यसमा फार्मेसी र नर्सिङ कार्यक्रम सञ्चालनका लागि थप पूर्वाधार बनाउनु पर्नेछ ।

नगरपालिकाको ३ करोड ७७ लाख लगानीमा निर्माण गरेको भवन लामो समय प्रयोगविहीन हुँदा चर्को आलोचना हुँदै आएको थियो । साविकको नर्मदेश्वर प्रावि रहेको स्थानमा एक वर्षको अवधिमा नगरपालिकाले सुविधासम्पन्न ३ तले भवन निर्माण गरे पनि कक्षा सञ्चालनकाे अनुमति नपाउँदा भवन प्रयोग बिहीन अवस्थामा रहेको थियो ।