काठमाडौं,२१ असार ।
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि दोस्रो पटक नेपालले हात पारेको छ । शनिवार सम्पन्न फाइनल प्रतिस्पर्धामा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले दोस्रो पटक उपाधि हात पारेको हो ।

सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले ।

त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाउँदै अलआउट भएको थियो । सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए ।

नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै सुशिल बहादुर रावलले पनि ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए ।

नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।