“शहरका महंगा विद्यालयलाई चुनाैती”
पाल्पा,२० असार ।
पढाइमा राम्रो नतिजा ल्याउन शहरका महंगा स्कुलमै पढ्नुपर्छ भन्ने आम मानसिकतालाई ताेड्दै गुल्मीको सत्यवतीका विद्यार्थीले एसईई परीक्षामा चार जिपिए ल्याउन सफल भएका छन् ।

गुल्मीको सत्यवती गाउँपालिका –५ रघेवाका १७ वर्षीय भण्डारी गाउँमै घाँस– दाउरा गरेरै माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा चार जिपिए ल्याएर जिल्लामै उत्कृष्ट हुन सफल भएका छन् । जिल्लाको हसरास्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत भण्डारीले एसइई दिएका थिए । गत शुक्रबार एसइईको नतिजा सार्वजनिक हुँदा उनी आमासँगै खेतमा काम गरेर घर फर्किएका थिए । कामको थकाई मेट्न नपाउँदै उनले एसइईको नतिजा सार्वजनिक भएको थाहा पाए । नतिजा आएको थाहा पाउना साथ भण्डारीले हतार–हतार गरी नेपाल टेलिकमको टोल फ्रि नम्वर १६०० मा डायल गरे । उनी आफ्नो नतिजाबारे उत्सुक हुनु स्वाभाविकै थियो । भण्डारीले मन ढुक्ढुक बनाउँदै आफ्नो नतिजा सुन्न थाले । टेलिकमबाट चार जिपिए आएको भन्ने कुराले उनमा खुसीको सीमा रहेन । तर भण्डारी त्यतिकैमा ढुक्क भने हुन सकेनन् । उनले पुनः सोही नम्वरमा डायल गरे । त्यति बेला पनि सोही नतिजा नै आयो । भण्डारीले भने “पहिलो डायलमै चार जिपिए भन्दा ढुक्क हुन सकिन । फेरी डायल गरे, त्यति बेला पनि त्यहि नै भन्यो, यसरी नै तीन पटक सम्म डायल गरे । त्यही कुरा दाेहाेर्यायाे । त्यतिले मात्र म ढुक्क हुन नसकेर बुटवलमा रहनुभएको दाइलाई नतिजा हेर्न लगाए । त्यसपछि दाइले चार जिपिए आयो भनेपछि ढुक्क भएको हुँ ।”

परीक्षा दिएपछि आफुले राम्रै अंक ल्याएर पास हुनेमा ढुक्क रहे पनि चार जिपिएनै आउला भन्नेमा भने त्यति ढुक्क नभएको भण्डारीले बताए । उनी चार भाइ मध्ये घरका कान्छो छोरा हुन् । उनका तीन दाजुहरु रोजगार र व्यवसायीका लागि बुटवल र पाल्पा बस्दै आए छन् । भण्डारी भने आमासँगै गाउँमा बसेर पढ्दै आएका थिए । डेढ वर्ष अघि बुवाको निधन भएपछि उनमा घरायसी कामको थप जिम्मेवारी थपिएको थियो । बुवा हुँदा पनि घाँस काट्नेदेखि खेतीपाती गर्नेदेखि घरमा आमा बुवालाई घरायसी काममा सहयोग गर्ने गर्थे । विहान घाँस काटेरै उनी आधा घण्टाको बाटो हिडेर स्कुल गएर पढ्ने गरेको उनलेे स्मरण गरे । स्कुलबाट फर्किएपछि पनि उनले आमासँगै खेतबारीबाट घाँस काटेर ल्याउने गर्थे । एसइईको राम्रोसँग तयारी गर्नुपर्ने बेलामा घरकै मियोको रुपमा रहेका बुवाको निधनले उनलाई पीडा थपिएको थियो । तर पनि उनले इमान्दारी र लगनशील भएर आफ्नो पढाईलाई निरन्तरता दिए । जसको परिणाम एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भए । भाइले राम्रो नतिजा ल्याएर एसइई उर्तीण हुँदा आफुहरु उत्साहित भएको उनका दाजु बैकुण्ठ भण्डारीले बताए ।

उनले भने “सानैदेखि पढाईमा अब्बल थियो, हामी भने पहिलेदेखि नै बाहिर बाहिर भयौं, भाइले बुवाआमाई समेत काममा सहयोग गर्ने गथ्र्यो, गाउँमा बसेर काम गरेर पनि उत्कृष्ट अंक ल्याएर पास भएकोमा परिवारमा खुसी छाएको छ ।” अर्जुनले जीवनमा आफु डाक्टर बन्ने इच्छा रहेको बताए । उनले भने “घरको आर्थिक अवस्था राम्रो त छैन त्यही पनि मेरो जीवनको एक मात्र लक्ष्य भनेको डाक्टर बनेर विरामीको सेवा गर्ने हो, किन भने मेरो बुवा पनि विरामी हुनुहुथ्यो, विरामी भएकै कारण उहाँलाई बचाउन सकिएन, बुवाले पनि भन्ने गर्नुहुन्थ्यो बाबु पछि गएर डाक्टर बन्नु है विरामीको सेवा गर्नु । त्यही बुवाको सपनालाई साकार पार्नको लागि भए पनि मैले डाक्टर पढ्नुपर्ने छ । हेरौं सबैको साथ मिल्यो भने अवश्य पनि डाक्टर बन्छु ।”

डाक्टर बन्नको लागि कडा मेहनतका साथ पढेर छात्रवृत्तिमा नाम निकाल्नुको विकल्प नभएको उनले बताए । भण्डारीले भने “विज्ञान संकायमा प्लस टु गरी छात्रवृत्तिमा नाम निकालेर एमबिबिएस पढ्ने लक्ष्यका साथ अहिले देखिनै थप मेहनत गर्छु ।”

गुल्मीबाट भण्डारी जस्तै अन्य दुई जनाले पनि चार जिपिए ल्याएको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका सूचना अधिकारी रामप्रसाद पन्थीले बताए । उनका अनुसार चन्द्रकोटको उदय मावि शान्तिपुरका निशान भण्डारी, सत्यवतिको सत्यवती माविका सिर्जित भण्डारी र अर्जुन भण्डारीले चार जिपिए ल्याएका हुन् ।

राम्रो शिक्षा दीक्षा हाशील गर्ने भन्दै शरमा बसेर नियमित कक्षासँगै साँझ–विहान ट्युसन पढेर परीक्षामा उत्कृष्ट नतिजा ल्याउनु स्वभाविक भए पनि गाउँको दुरदराजमा बसेर घाँस–दाउरा गरी विद्यालय गएर परीक्षामा उत्कृष्ट नतिजा ल्याउनु सामन्य विषय हाेइन ।

ग्रामीण क्षेत्रका धेरै बालबालिकाहरु अझै पनि शिक्षाको पहुँच भन्दा बाहिर छन् । जसो तसो शिक्षाको पहुँचसम्म पुगेकाहरु भने घरायसी कामका कारण पढाइमा त्यति अब्बल हुन सकेका छैन् । तर इमान्दारिता र लगनशिल भए घरायसी काम गरेरै पनि शिक्षामा अब्बल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् गुल्मीका अर्जुन भण्डारी ।