प्रकाश खनाल
बुटवल,१९ असार ।
बुटवल उपमहानगरपालिका वडा नं -३ ज्याेतिनगर निवासी सुनिता गुरूङलाई हिजोआज अरूसँग गफ गर्ने फुर्सदै छैन ।

जुत्ता चप्पल बनाउने र अरूलाई सिकाउने काममा ब्यस्त हुँदा उनलाई अरूसँग गफ गरेर बस्ने फुर्सद नमिलेको हो ।

खाली समयकाे सदुपयोग गरी सामान्य आयआर्जन गर्ने उदेश्यले एक हप्ताको जुत्ता चप्पल बनाउने तालिम लिएकी ३१ बर्षिय गुरूङ जुत्ता चप्पल बनाएरै राम्रो आम्दानी गर्न सफल भएकी छिन भने अरूलाई समेत तालिम दिने कार्यमा ब्यस्त छिन् ।

तीन बर्ष अघि बुटवल उपमहानगरपालिका वडा नं ३ द्वारा आयोजित एकहप्ते जुत्ता चप्पल बनाउने तालिम लिएकी गुरूङ अहिले जुत्ता चप्पल बनाएरै मासिक ४०/५० हजार आयआर्जन गर्न सफल भएकी हुन् ।

घरधन्दाकाे काम सकेर फुर्सदको समयमा घरमै बसी जुत्ता चप्पल बनाएर राम्रो आयआर्जन गर्न सफल भएकी उनलेे आफू जस्तै जागर भएका अन्य गृहिणी महिलाहरूलाई तालिम दिएर थप आयआर्जन गरेकी छिन् ।

फुर्सदको समयमा माेबाइल चलाएर बस्नु र साथीहरूसँग गफ गरेर समय बिताउनुकाे सट्टा जुत्ता चप्पल बनाएर आफ्नो सामान्य खर्च चलाउने साेँचका साथ एक हप्ते तालिम लिएकी उनि महिला उद्यमीकाे रूपमा स्थापित हुने क्रममा छिन् ।

बुधबार दिउँसो पनि जुत्ता चप्पल बनाउन सिकाउने काममा ब्यस्त रहेकी गुरूङले लुम्बिनीपाटी डट कम अनलाइनसँग कुरा गर्दै भनिन् -” साच्चै भन्ने हो भने बुटवल उपमहानगरपालिकाले दिएको एक हप्ताको तालिमले मेरो जिवनमा कायापलटनै ल्याएको छ ।”

जम्मा पाँच प्रकारका जुत्ता चप्पल बनाउने तालिम लिएकी गुरूङले स्वअध्ययनबाट २५/३० प्रकारका जुत्ता चप्पल बनाएर बिक्रीवितरण गर्दै आएको बताइन् ।

सुरुमा घर परिवार र आफन्तलाई आवश्यक पर्ने जुत्ता चप्पल तयार गर्ने साेचकासाथ आफुले साे तालिम लिएको भन्दै उनलेे टाेल छिमेकबाट पनि माग हुनथालेपछि ब्यवसायीक रूपमै उत्पादन सुरु गरेको उनले बताइन् ।

छिमेकीको घर भाडामा लिएर उत्पादन तथा बिक्री एवम् तालिम समेत दिदै आएकी गुरूङले एक जनालाई राेजगारी समेत दिएकी छिन् ।

आफुले उत्पादन गरेका जुत्ता चप्पल रूपन्देही सहित छिमेकी जिल्लाका साथै बिदेशमा रहेका नेपालीहरूले समेत लैजाने गरेको गुरूङले बताइन् ।

बुटवल उपमहानगरपालिका,रूपन्देही जिल्ला मात्रै नभएर छिमेकी पालिका तथा छिमेकी जिल्लाहरूबाट पनि आफुसँग तालिम लिन आउने गरेको उनलेे जानकारी दिइन् ।

लुम्बिनीपाटीकाे समाचार सम्पादन टिम उनको पसलमा पुग्दा रूपन्देहीको भैरहवाकी सुस्मिता गुरूङ र कपिलवस्तुकाे बुद्वभुमी-२ गाेरूसिंगेकी आरधना माेक्तान पनि जुत्ता चप्पल बनाउने सीप सिक्न ब्यस्त देखिन्थे ।

गाेरूसिंगेमा ब्याग पसल सञ्चालन गर्दै आएकी आरधना ब्यागका अलावा जुत्ता चप्पलसहितको ब्यापार बिस्तार गर्ने उदेश्यले आफू कपिलवस्तुबाट तालिम लिन आएको प्रतिक्रिया दिइन् ।

अर्की प्रशिक्षार्थी सुस्मिताले भने गृहिणी महिलाबाट माथि उठेर समाजमा महिलाहरूले पनि केही गर्न सक्छन् है भन्ने उदाहरण प्रस्तुत गर्ने साेँचका साथ आफू भैरहवाबाट तालिमका लागि बुटवलसम्म आएको लुम्बिनीपाटी अनलाइनलाई बताइन् ।

गृहिणी महिलाहरूलाई फुर्सदको समयमा घरमै बसेर पनि आम्दानी गर्न सकिने सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने उदेश्यले बुटवल उपमहानगरपालिकाकाे सहयोगमा वडा कार्यालयले जुत्ता चप्पल बनाउने तालिम दिएकोमा सुनिता गुरूङसहित केही महिलाले आफ्नो आयआर्जनमा उल्लेख्य प्रगति गरेको वडा सदस्य अमृत खड्काले बताए ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सीप र संस्कार बिनाको शिक्षाकाे कुनै अर्थ नरहने भएकोले बुटवल उपमहानगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिम दिदै आएको प्रतिक्रिया दिए ।

काम गर्ने क्षाशक्ति भए घरमै बसेर पनि स्वराेजगार बन्नुका साथै आर्थिक रूपमा सक्षम बन्न सकिन्छ भन्ने यो एक उदाहरण पनि हो ।