प्रकाश खनाल
बुटवल,१४ असार ।
सीप र संस्कारसहितकाे स्वराेजगारमुलक शिक्षा बुटवलकाे मुल मन्त्र भन्ने नाराका साथ बुटवल उपमहानगरपालिकाले साेही अनुरूप शैक्षिक कार्यक्रम अगाडि बढाएको छ ।

संघीय राजधानी काठमाडौंपछि मुख्य शैक्षिक गन्तव्यकाे रूपमा विकास हुँदै गएको बुटवललाई देशकै शैक्षिक हवकाे रूपमा विकास गर्न शिक्षालाई सीप र राेजगारसँग जाेडेर लैजाने नीति तथा कार्यक्रम अगाडि सारिएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

बुटवलको मुहार बदल्ने योजना बारे लुम्बिनीपाटी डट कम अनलाइनसँग कुरा गर्दै नगर प्रमुख पाण्डेयले बुटवलमा भविष्य देखेर बाहिरी जिल्लाबाट यहाँ आउने युवा विद्यार्थीहरूकाे आकांक्षालाई परिपुर्ति गर्न पनि शिक्षालाई सीप र राेजगारसँग जाेडेर लैजाने नीति तथा कार्यक्रम अगाडि सारिएको बताएका हुन् ।

शिक्षा,स्वास्थ,पर्यटन र राेजगारीलाई प्राथमिकतामा राखेको बुटवल उपमहानगरपालिकाले सीपमूलक र स्वराेजगारमूलक शिक्षामा जाेड दिएको उनलेे बताए ।

स्नातकोत्तर तह उत्तीर्ण गरेका युवाहरूसँग मानिसको जिवनमा आवश्यक पर्ने सामान्य निवेदन लेख्ने तथा आफ्नो घरको धारा,पंखालगायतका सामाग्री बिग्रिदा सामान्य ज्ञान नहुने गरेको स्मरण गर्दै नगर प्रमुख पाण्डेयले साेही अवस्थालाई मध्यनजर गरि शिक्षालाई सीपसँग र सीपलाई राेजगारीसँग जाेडेर लैजाने नीति अवलम्बन गरेको बताए ।

नेपालकाे शिक्षा नीतिमा परम्परागत र यथास्थितिवाद हावी रहेको भन्दै उनलेे अब त्यसलाई ताेडेर सीप र संस्कारसहितकाे राेजगारमूलक शिक्षा अहिलेकाे आवश्यकता रहेकोमा जाेड दिए ।
बुटवल व्यापारिक नगरी मात्रै नभएर शिक्षा, स्वास्थ्य, प्रविधि, सीप र रोजगारको थलोको रुपमा विकास हुँदै गएको भन्दै नगरप्रमुख पाण्डेयले बुटवलको शिक्षामा सबैभन्दा धेरै बजेट छुट्याउने पालिकामध्ये बुटवल अग्र स्थानमा रहेको दाबी गरे ।

आगामी आर्थिक वर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रम र बजेटमा पनि बुटवलको शैक्षिक विकासमा करोडौं रूपयाँ बजेट बिनियाेजन गरिएको नगर प्रमुख पाण्डेयले आधारभूत तथा माद्यमिक विद्यालयहरूलाई न्युनतम मापदण्ड अनुरूप भाैतिक तथा शैक्षिक पूर्वाधार विकासका लागि मात्रै ६ करोड बजेट छुट्टयाइएको जानकारी दिए ।

नेपालकै पुरानो बुटवल टेक्निकल इनस्टिच्युट उपमहानगरपालिका मातहत सञ्चालन हुन तयार भए त्यसका लागि २ करोड रूपयाँ बजेट छुट्टयाइएको पनि उनलेे बताए ।

शिक्षा र स्वास्थ्यमा अब्बल रहेकै कारण अन्य जिल्लाहरूबाट अध्ययन तथा स्वास्थ्य उपचारका लागि बुटवल आउनेकाे संख्या ठूलो रहेको भन्दै उनलेे बुटवलमा अध्ययनरत ९३ हजार विद्यार्थी मध्ये ६० प्रतिशत बाहिरी जिल्ला तथा पालिकाबाट आएका विद्यार्थी रहेको जानकारी गराए ।

कापीकलम,विद्यालय पाेशाक तथा पैसाको अभावमा बुटवलका कुनै पनि बालबालिका स्कुल जानबाट बन्चित हुनुुपर्ने अवस्था आउन नदिने उनको प्रतिवद्वता छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै नगर उपप्रमुख सावित्रादेवी अर्यालले “पढाइसँगै रोजगार सिर्जना गरौं, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौं ” भन्ने उद्देश्यका साथ स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक व्यवस्थापनमा खटाउनेलगायतका कार्यक्रममा बजेट व्यवस्था गरेको बताएकी थिइन् ।

पछिल्लो समय बुटवल शैक्षिक हवकाे रूपमा विकास हुदै गएको भन्दै उपमेयर अर्यालले नगरका सबै सामुदायिक विद्यालयहरूलाई पूर्ण प्रविधियुक्त बनाउदै डिजिटल लर्निङ पाेर्टल कम्प्युटर शिक्षाका लागि १ करोड, स्थानीय पाठ्यक्रमलाई आवश्यकता अनुसार परिमार्जन गरि छपाई गर्नुका साथै बुटवलको पहिचान,जातीय पहिचान,भाषा,संस्कृति र सांस्कृतिक कार्यक्रम,नैतिक शिक्षा,सरसफाइ सम्बन्धि शिक्षाका लागि ७० लाख, “छाेरी पढाऔं,समाज बनाऔं ” कार्यक्रमका लागि ५० लाख, नगर प्रमुख शैक्षिक सुधार काेष मार्फत बिपन्न बर्गका बालबालिकालाई आवश्यक छात्रवृत्ति,पाेशाक तथा शैक्षिक सामाग्री बितरणका लागि ३० लाख, सिद्वार्थ बाल तथा महिला अस्पतालमा सञ्चालन भएको प्यारामेडिकल तहलाई थप ब्यवस्थित बनाउन २५ लाखसहित शैक्षिक विकासमा करोडौं रकम बिनियाेजन गरिएको जानकारी दिइन ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले शैक्षिक हवकाे रूपमा विकास हुँदै गएको बुटवलकाे शैक्षिक विकासका लागि बुटवल उपमहानगरपालिकाले लगानी बढाएको भन्दै साेही अनुरूप यहाँका सामुदायिक विद्यालयहरूकाे नतिजा राम्रो आएको बताए ।

पैसा हुनेले मात्रै नभएर गरिब,बिपन्न तथा असहाय बालबालिकाकाे उपमहानगरपालिकाले अभिभावकत्व ग्रहण गरी उनिहरूकाे शिक्षाको जिम्मेवारी लिने नीति लिइएको जानकारी गराए ।