काठमाडौ,१३ असार ।
राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी गरेको छ ।
असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बनाइएको भएपनि गत चैत २० देखि शिक्षकहरुको काठमाडौँ केन्द्रित आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।
नतिजा प्रकाशनको तयारी बारे छलफल गर्न आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको एक बोर्ड सदस्यले जानकारी दिए ।
हाल तथ्यांक इन्ट्रीको काम सकिएर भेरिफाइ भइरहेकाले बोर्डले आज या भोली नतिजा प्रकाशन गर्ने निर्णय लिने उनले बताए । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका थिए ।
यसअघि २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएपछि सबैलाई पुरक परीक्षा दिन पाउने अवसर दिइएको थियो । यस बर्ष परीक्षामा उतिर्ण प्रतिशत ७० पुर्याउने सरकारको लक्ष्य रहेको छ ।







