बुटवल,१२ असार ।
बुटवल स्थित कालिका मानवज्ञान माबिमा आमसंचार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई लुम्बिनी प्रदेश सरकारले छात्रवृति प्रदान गरेको छ ।

प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको आमसंचार अध्ययनरत विद्यार्थी प्रोत्साहन कार्यक्रम अन्तर्गत विद्यालयमा आमसंचार तथा पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरु मध्ये २६ जनालाई जनही २५ हजार रुपियाको दरले छात्रवृति प्रदान गरिएको विद्यालयले जनाएको छ ।

छात्रवृति वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले संचार क्षेत्रलाई राज्यको चौथो अंग मानिने भएकोले यो क्षेत्रमा आवस्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयले २०६५ सालदेखि आमसंचार र पत्रकारिता विषय पढाउदै आएको बताए । पत्रकारिताका विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा दन विद्यालयमै सुविधासम्पन्न स्टुडियोको निर्माण गरिएको भन्दै उनलेे विभिन्न संचार गृहहरुमा लगेर व्यवहारिक तालिम समेत दिने गरिएको जानकारी गराए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यालयले विद्यार्थीहरुलाई विभिन्न किसिमका छात्रवृतिहरु प्रदान गरेर विद्यार्थीहरुलाई प्रोत्साहित गरिरहेको अवस्थामा प्रदेश सरकारले समेत विद्यार्थीहरुलाई छात्रवृति उपलब्ध गराउदा विद्यार्थीहरुलाई निर्वाध किसिमले आफ्नो पढाई पुरा गर्न र उच्च शिक्षाको बाटो तय गर्न समेत मद्दत पुग्ने विश्वास ब्यक्त गरे ।

आमसंचार तथा पत्रकारिताका विषय प्रमुख शेर बहादुर केसीले प्रदेश सरकारले आमसंचार पढ्ने विद्यार्थिलाई छात्रवृति प्रदान गरेकोमा धन्यवाद दिदै यस्ता छात्रवृतिले विद्यार्थीहरुलाई अध्ययन पुरा गर्न मात्र नभएर पत्रकारिताको क्षेत्रमा आवस्यक दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताए ।

बिषयगत इन्चार्ज बिमल आत्रेयकाे सहजिकरणमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।