काठमाडौँ,३१ जेठ ।
भारतको अहमदाबाद विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुगेको छ ।
हालसम्म २७० भन्दा बढी शवको पोस्टमार्टम गरिएको र अन्यको डीएनए नमुना लिने प्रक्रिया जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनास्थलमा भग्नावशेष हटाउने काम अझै जारी रहेको छ ।
गत बिहीबार दुर्घटनामा परेको त्यस एयर इन्डियाको विमानमा चालक दलका सदस्य र यात्रुसहित २४२ जना थिए, जसमध्ये एक यात्रु मात्रै बाँच्न सफल भए ।
यसबाहेक विमान खसेको बीजे मेडिकल कलेज होस्टेलमा रहेका डाक्टर तथा कर्मचारी गरी ३४ जनाको पनि मृत्यु भएको हो ।
एयर इन्डियाको बोइङ ७८७-८ ड्रिमलाइनर विमान यही जुन १२ तारिख (जेठ २९) दिउँसो १:३८ बजे अहमदाबाद विमानस्थलको रनवे २३ बाट लन्डनका लागि उड्नासाथ घना बस्ती भएको क्षेत्रमा खसेको थियो ।
प्रत्यक्षदर्शीहरूका अनुसार, विमान केही सेकेन्डमै असन्तुलित भयो र विमानस्थलको सीमा बाहिर भवनमाथि खस्यो । दुर्घटना भएको केही समयपछि आगो लाग्यो र विमानबाहिरका मानिसकाे पनि मृत्यु भयो ।
विमान दुर्घटनाबारे औपचारिक रूपमा अनुसन्धान सुरु गरिसकिएको भारत सरकारले जनाएको छ ।








