बुटवल,३० जेठ ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सीप र संस्कारसहितको शिक्षा अहिलेकाे आवश्यकता भएको बताएका छन् ।
शुक्रबार बुटवलमा आयोजित “बालबालिकासँग मेयर” कार्यक्रममा नगर प्रमुख पाण्डेयले सीप र संस्कारसहितको शिक्षा अहिलेकाे आवश्यकता भएको भन्दै साेही अनुरूप बुटवल उपमहानगरपालिकाले सीप र संस्कारसहितको शिक्षामा जाेड दिएको बताएका हुन् ।
देशभरका पालिकामध्ये शिक्षामा सबैभन्दा धेरै लगानी गर्नेमा बुटवल उपमहानगरपालिका पहिलो रहेको दाबी गर्दै उनलेे
यहाँका सरकारी र निजी दुबै विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अब्बल देखिएको बताए ।
शिक्षा र स्वास्थ्यमा बुटवल अब्बल रहेकै कारण अन्य जिल्लाहरूबाट अध्ययन तथा स्वास्थ्य उपचारका लागि बुटवल आउनेकाे संख्या ठूलो रहेको भन्दै बुटवलमा अध्ययनरत ९३ हजार विद्यार्थी मध्ये ६० प्रतिशत बाहिरबाट आएका भएको जानकारी गराए ।
बुटवलका कुनै पनि बालबालिका कापीकलम,विद्यालय पाेशाक तथा पैसाको अभावमा स्कुल जानबाट बन्चित हुनुुपर्ने अवस्था आउन नदिने उनको प्रतिवद्वता छ ।
कार्यक्रममा उपमेयर सावित्रा देवी अर्यालले पछिल्लो समय बुटवल शैक्षिक हवकाे रूपमा विकास हुदै गएको भन्दै गरिब,बिपन्न तथा असहाय बालबालिकाकाे उपमहानगरपालिकाले अभिभावकत्व ग्रहण गर्ने बताइन् ।
साे अवसरमा विद्यार्थीहरूले विद्यालय वरपरका क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण,फाेहाेर मैला ब्यवस्थापन,शान्ति सुरक्षा,सेनेटरी प्याडकाे उपलब्धता शैक्षिक विकासमा बुटवलको लगानी तथा आगामी योजना बारे जिज्ञासा राखेका थिए ।
बुटवलका सरकारी तथा निजी विद्यालयका करिब २५० विद्यार्थीकाे सहभागीता रहेको साे कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १७ का वडा अध्यक्ष ज्ञानबहादुर रेश्मी,बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थीलगायतले बुटवलको शैक्षिक विकासका लागि भैरहेका प्रयास र आगामी योजना बारे आ आफ्नो भनाइ राखेका थिए ।






