काठमाडौँ,२९ जेठ ।
एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए ।

विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, ‘अहमदाबाद-लन्डन गेटविक उडान गर्ने उडान नम्बर एआई१७१ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ ।’ एयरलाइन्सले थप जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेको र सकेसम्म चाँडो थप अपडेटहरू साझा गर्ने बताएको छ ।

विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने ७ वटा दमकल र एम्बुलेन्स पनि दुर्घटनास्थलमा पुगेका छन् । उद्धार कार्य सुरु गरिएको छ । एनडीआरएफका २ वटा टोली पनि उद्धार कार्यमा संलग्न छन् ।

गृहमन्त्री अमित शाहले विमान दुर्घटनाबारे गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र प्रहरी आयुक्तसँग छलफल गरेका छन्। केन्द्र सरकारबाट उनलाई सबै सम्भव सहयोगको आश्वासन दिइएको छ ।

भारतीय सञ्चारमाध्यम न्यूज २४ अनलाइनका अनुसार दुर्घटनामा परेको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको खबर छ ।

एयर इन्डियाको विमान बिहीबार अहमदाबादबाट उडेपछि केही समयमै दुर्घटनाग्रस्त भएको थियो । यो विमान अहमदाबादबाट लन्डन ग्याटविक जाँदै थियो ।

२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १ः३८ बजे अहमदाबादबाट उडेको थियो । यो विमान बोइङ ७८७–८ विमान थियो । विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए ।

विमान सुरक्षा विशेषज्ञ मार्को च्यानका अनुसार, दुर्घटनाको समयमा मौसम ‘स्थिर र सफा’ थियो। बीबीसीसँग कुराकानी गर्दै उनले भने, ‘त्यस समयमा कुनै उल्लेखनीय बादल, आँधीबेहरी, हावा परिवर्तन वा अन्य प्रतिकूल मौसमस्थितिहरू थिएनन्, जसले दुर्घटनामा योगदान दिएको संकेत देखिँदैन ।’

विमान दुर्घटनापछि भारतीय प्रधानमन्त्री मोदीले के भने ?

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनाले सबैजना स्तब्ध र दुःखी भएको बताएका छन्।

उनले लेखेका छन्, ‘यो हृदयविदारक छ र शब्दमा व्यक्त गर्न सकिँदैन। यस दुःखको घडीमा, यसबाट प्रभावित सबैप्रति मेरो समवेदना छ। म दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न संलग्न मन्त्रीहरू र अधिकारीहरूसँग सम्पर्कमा छु।’

अहमदाबाद । एयर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। विमानस्थलका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहमदाबादबाट लन्डन, गेटविकका लागि उडान नम्बर एआई१७१ आज उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भयो। फलस्वरूप, सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल हाल बन्द छ। अर्को सूचना नभएसम्म सबै उडानहरू निलम्बित रहनेछन्।’

‘यात्रुहरूले विमानस्थलमा आइपुग्नुअघि आफ्नो एयरलाइन्ससँग पछिल्लो जानकारीको लागि जाँच गर्नु होला। हामी तपाईंको सहयोग र धैर्यताको लागि अनुरोध गर्दछौं। थप जानकारी उपलब्ध हुने बित्तिकै तपाईंलाई प्रदान गरिनेछ,’ प्रवक्ताले भनेका छन् ।

यता, एयर इन्डियाले अहमदाबादमा दुर्घटनाग्रस्त भएको आफ्नो विमानमा सवार यात्रुहरूको बारेमा जानकारी दिएको छ। २४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १: ३८ बजे अहमदाबादबाट उडेको थियो।

न्युयोर्क । प्लेन निर्माता बोइङका सेयरहरू बिहीबार अमेरिकी प्रि-मार्केट कारोबारमा घटेका छन्। भारतको पश्चिमी सहर अहमदाबाद नजिक एयर इन्डियाको एक विमान दुर्घटनाग्रस्त भएपछि यस्तो गिरावट आएको हो।

उक्त विमानमा २०० भन्दा बढी यात्रु सवार थिए। एयर इन्डियाका अनुसार दुर्घटनामा परेको विमान बोइङ ७८७–८ ड्रीमलाइनर थियो। हालसम्म दुर्घटनाको कारण खुल्न सकेको छैन।

एयर इन्डियाका अनुसार विमान बेलायतको गेटविक विमानस्थलतर्फ उडिरहेको थियो। प्रहरीका अनुसार विमान विमानस्थलनजिकैको नागरिक बस्तीमा खसेको हो। दुर्घटनापछि बोइङको सेयर मूल्य ७.८५ ले घटेर प्रि-मार्केट ट्रेडिङमा १९७.३ डलरमा झर्‍यो।