काठमाडौं,२५ जेठ ।
अमेरिकाले फिर्ता पठाएका (डिपोर्ट गरेका ) थप ४० जना नेपाली आज अपराह्न काठमाडौं आइपुग्दैछन् । अमेरिकी सरकारले चार्टर्ड विमानमार्फत् उनीहरुलाई नेपाल फिर्ता पठाउन लागेको हो ।

उनिहरू आज अपराह्न सवा चार बजे सो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको छ । विमानले विभिन्न देशका डिपोर्ट गरिएका नागरिकहरुलाई छाड्दै–छाड्दै काठमाडौं आइपुग्ने जनाइएको छ ।

विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले नेपालीहरुको आगमन पुष्टि गर्दै डिपोर्ट गरिएका नेपालीको संख्या एकीन नभएको बताए । ‘हामीलाई १०–१२ दिन अघि नै पत्र आएको थियो,’ उनले भने, ‘तर त्यसमा स्पष्ट संख्या छैन । विमान अवतरण भएपछि मात्रै यकिन हुन्छ ।’

स्रोतका अनुसार प्रारम्भिक सूचीमा ४८ जना नेपालीको नाम थियो, तर केहीको प्रक्रियामा रोक लागेकाले अहिले संख्या ४० जना आसपास हुन सक्ने अनुमान गरिएको छ ।

ट्रम्प प्रशासनले आप्रवासीप्रति कडा नीति अख्तियार गरेपछि भिसा उल्लंघन, ओभरस्टे वा अन्य कारणले पक्राउ परेका नेपालीहरुलाई नियमित रूपमा फिर्ता पठाउने क्रम जारी छ । सन् २०२५ को जनवरीदेखि मे महिनासम्म मात्र अमेरिकाले १४० जना नेपालीलाई डिपोर्ट गरिसकेको छ । यस अवधिमा जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मेमा ५८ नेपालीलाई फिर्ता पठाइएको हो ।

यसअघि सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ नेपाली डिपोर्ट भएका थिए । हाल डिपोर्ट हुनेमध्ये धेरैजसोले अवैध बाटो अपनाएको, दलाललाई मोटो रकम बुझाएको र कानुनी प्रक्रिया नअपनाई अमेरिका प्रवेश गरेको पाइएको छ ।

नेपाल फर्काइएका व्यक्तिहरुलाई अध्यागमनपछि मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर पठाउने गरेको छ । तर, दलालविरुद्ध उजुरी परे मात्र अनुसन्धान प्रक्रिया अघि बढ्ने कानुनी ब्यवस्था छ ।