काठमाडौँ,२४ जेठ ।
अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपाली मृत फेला परेका छन् ।

मनाससपार्क प्रहरीका अनुसार घरको तल्लो तलामा भाडामा बस्ने नेपाली परिवारका चारजना मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीय समयअनुसार बिहीबार राति १०:४० बजे घरधनीले प्रहरीलाई आफ्नो घरमा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरेका थिए ।

त्यसपछि घटनास्थल पुग्दा तलको अपार्टमेन्टमा चार जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेका छन् ।

प्रारम्भिक अनुसन्धानमा सबैको मृत्यु गोली लागेर भएको देखिएको छ ।

घटनास्थलमा हतियार पनि फेला परेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेकाे प्रहरीको भनाइ छ ।