बुटवल,९ जेठ ।
बुटवलमा भएको प्रथम मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताकाे उपाधि न्यु होराइजन बाेर्डिङ स्कुलले हातपारेकाे छ ।

शुक्रबार बुटवल उपमहानगरपालिका वडा नं १६ नरैनापुर क्रिकेट मैदानमा भएको फाइनलमा कान्ति माविलाई ७ विकेटले हराउँदै न्यु होराइजनले उपाधि हातपारेकाे हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कान्तिले १४.२ ओभरमा मात्र ५८ रन बनाएर अलआउट भयो । त्यसमा १९ रन अतिरिक्त थियो ।

कान्तिका समिर विकले १२ तथा कृष्ण अधिकारीले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंक रन बनाउन सकेनन् । ४ ब्याटरले खाता पनि खोल्न सकेनन् ।

न्यु होराइजनका अब्राहिम अलिले ४, अमिर अर्यालले २, रञ्जीत मौर्य, सुभम खनाल र शुभम पाण्डेले समान विकेट १ विकेट लिए ।

जितका लागि ५९ रनको लक्ष्य पछ्याउँदै न्यु होराइजनले १०.३ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गर्यो । होराइजनका लागि ओपनर शुभम अर्यालले १४ र सफल भट्टराईले‌ १६ रन जोडे ।

रञ्जित मौर्यले ७ बलमा नटआउट १७ र संगम पाण्डेले ८ रन बनाए । कान्तिका समिर पोखरेल, विशाल मरासिनी र कृष्ण अधिकारीले समान १ विकेट लिए । होराइजनका अबह्रम अलि प्लेयर अफ दि म्याच भए ।

विजेता टोलीले ट्रफीसहित ५० र दोस्रोले‌ ३० हजार रुपैयाँ प्राप्त गर्यो । यसैगरि प्रतियोगितामा न्यु होराइजनका अब्राहिम अली म्यान अफ द सिरिज र उत्कृष्ट बलर तथा सोही टोलीका सफल भट्टराई उत्कृष्ट बमयाटर घोषित भए ।

नेपाल क्रिकेट संघ (क्यान) रुपन्देहीको प्राविधिक समन्वय भएको प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवि अर्याल, प्रवक्ता शिव राना, खेलकुद विकास समितिका संयोजक बोनिन पिया, वडा नं. ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठ, १६ का अध्यक्ष कृष्णप्रसाद पौडेल, खेल संयोजक सरोज सिंह क्षेत्री लगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा सामुदायिक १० र संस्थागत ७ गरि १७ टिमले सहभागीता जनाएका थिए ।