काठमाडौ, ६ जेठ ।
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग फराकिलो रन अन्तरले पराजित भएको छ ।
थाइल्याण्डसँग ७८ रनले पराजित हुँदै नेपाल एसिया छनोटको उपविजेतामै सीमित रह्यो । थाइल्याण्ड अपराजित रहँदै एसिया छनोटको उपाधि जित्न सफल भयो ।
१५९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रनमै समेटियो । नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन बनाउँदा राजमती ऐरी २० रनमा नटआउट रहिन् । रुबिना क्षेत्रीले १२ रन बनाइन् ।
थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ह्याट्रिकसहित ४ विकेट लिइन् । उनले १९औं ओभरमा रोमा थापा, ईश्वरी विष्ट र रिया शर्मालाई आउट गरेकी थिइन् । त्यस्तै थिपाथ्चा पुथावोङले ३ विकेट लिइन् । सुलिपर्न लाओमीले १ विकेट लिइन् ।
त्यसअघि थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाउँदै नेपाललाई १५९ रनको लक्ष्य दिएको थियो । थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५० रन बनाइन् । उनले २८ बलमा आक्रामक अर्धशतक बनाएकी हुन् ।
ओपनर नताया बूचाथामले पनि ५० रन बनाइन् । अफिसरा सुवानचोनराथीले २९ रन बनाइन् । नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले १-१ विकेट लिए ।
नेपाल र थाइल्याण्ड दुवैले ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका छन् । सोमबार भएको खेलमा नेपालले यूएईलाई हराउँदै पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो ।
त्यसअघि आइतबार थाइल्याण्डले यूएईलाई हराएर अघिल्लो चरणमा पुग्ने पक्का भएको थियो ।








