बुटवल,५ जेठ ।
लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश हुने भएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रयाेजनका लागि आज दिउँसो एक बजे प्रदेश सभा बैठक बाेलाइएकाे प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।
सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार जेठ २ गतेको मन्त्रिपरिषद बैठकले जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।






