बुटवल,४ जेठ ।
रूपन्देहीको सैनामैना स्थित साझा टेलिभिजनका स्टेशन म्यानेजर नविन घिमिरेले आफ्नो जन्म दिनको अवसरमा अभिभावकविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

सैनामैना नगरपालिका वडा नंं ११ मा रहेको जनज्योति आधारभूत विद्यालयको ३८ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सोही विद्यालयका भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष समेत रहेका घिमिरेले आइतबार ती सामाग्रीहरु वितरण गरेका हुन् ।

उनलेे स्कुल झाेला, कापी, कलम, जुत्ता, मोजा, ड्रेस लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरेका हुन् ।

आईतबार नै प्युठान घर भएका अति गरिव र विपन्न घर परिवारका विद्यार्थी विद्यालयमा भर्ना भएका छन् ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा यस्तै सामाजिक काममा गरिएको लगानी सार्थक र उपलब्धिमूलक हुने बताए । अभिभावकविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेकाेमा उनलेे टेलिभिजनका स्टेशन म्यानेजर घिमिरलाई धन्यबाद दिए ।

सो अवसरमा विद्यालयको भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष समेत रहेका घिमिरेले जन्म दिनको अवसरलाई केही फरक र रचनात्मक कृयाकलापका साथ मनाउँदै आएको स्मरण गर्दै यो बर्ष विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको जानकारी गराए ।

विद्यालयहरूमा विद्यार्थी संख्या घटिरहेकोमा चिन्ता व्यक्त गर्दै उनलेे विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने हो भने पूर्व विद्यार्थी, अहिले अध्ययन गरिरहेका विद्यार्थी, जनप्रतिनिधि, शिक्षक, विद्यालय परिवार लगायत सवैले एक कदम अघि बढेर योगदान दिनुपर्ने समय आएको बताए ।

कार्यक्रममा विद्यालयमा विभिन्न विधामा उत्कृट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिनुकासाथै उत्कृट शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।

सोही अवसरमा विद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट बिद्यार्थीलाई छात्रवृति तथा विद्यार्थीहरुलाई कपि वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक शिवलाल गिरीले
विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भूमिलाल सापकोटा,सैनामैना नगरपालिकाका वडा सदस्य ज्ञानबहादुर विष्ट लगायतले आ आफ्नो भनाइ राखेको शिक्षक पवन पोख्ररेलले जानकारी दिए ।